arrow

मन्दिर परिसरमा भारतीय नागरिकको हत्या, प्रहरी अनुसन्धान जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
nepal-police12.jpg

सिन्धुली। दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगङ्गा महादेव मन्दिर परिसरमा सोमबार हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ। मृतक भारतको सितामडी भवदेपुर–११ का पङ्कजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन्।

भगत मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए। उनको शव परीक्षणपछि परिवारको जिम्मा लगाइने प्रहरी उपरीक्षक सुवेदीले बताए। मृतकका माइला दाजु रञ्जित भगतले सिन्धुली अस्पतालमा आएर मृतकको सनाखत गरेका हुन्।

सोमबार बिहान करिब २५/३० वर्षका पुरुषको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा मृतकको छातीमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरी उपरीक्षक सुवेदीले बताए। प्रहरीले घटनास्थलबाट धारिलो हतियार चुप्पी र खुपा बरामद गरेको थियो।

प्रहरीका अनुसार पङ्कज साथीहरूसँग मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीसँगै आएका सबैजना फरार रहेको र घटनामा संलग्नलाई चाँडै पक्राउ गरिने प्रहरी उपरीक्षक सुवेदीले बताए। घटनामा संलग्न व्यक्तिबारे किटानी जाहेरी पनि परेको छ।

भारतको विभिन्न स्थानबाट बर्सेनि साउनको पहिलो सोमबार मधुगङ्गा महादेवको दर्शन गर्न भक्तजनहरू आउने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ