arrow

रसुवा बाढीको वितण्डा: २९ करोडको बिमा दाबी, व्यापार ठप्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
bhotekohi-badi-rasuwa1.jpg

काठमाडौँ । गत असार २३ गते रसुवाको ल्हेन्देखोलमा चीनतर्फबाट आएको बाढी र पहिरोले पुर्‍याएको क्षतिका लागि विमितहरूले करिब २९ करोड रुपैयाँको बिमा दाबी गरेका छन्। नेपाल बिमा प्राधिकरणका अनुसार, नौवटा बिमा कम्पनीमा कूल २८ करोड ९२ लाख रुपैयाँ बराबरको ६३ वटा दाबी परेका छन्।

बिमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार, शिखर इन्स्योरेन्समा सबैभन्दा बढी १६ करोड १२ लाख रुपैयाँ बराबरको १० वटा दाबी परेका छन्। यसैगरी, नेको इन्स्योरेन्समा ५ करोड १२ लाख रुपैयाँको ३ वटा र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३ करोड ४१ लाख रुपैयाँको ७ वटा दाबी परेको छ।

अन्य कम्पनीहरूमा पनि महत्त्वपूर्ण दाबीहरू रहेका छन्: सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडमा ७७ लाख रुपैयाँ बराबरको ६ वटा दाबी, आइजीआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीमा ७५ लाख ५० हजार रुपैयाँ बराबरको ९ वटा दाबी, युनाइटेड अजोड इन्स्योरेन्समा ६८ लाख रुपैयाँ बराबरको ३ वटा दाबी, एनएलजी इन्स्योरेन्समा ४७ लाख रुपैयाँ बराबरको ६ वटा दाबी, र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ३१ लाख रुपैयाँ बराबरको ७ वटा दाबी परेको छ।

कुल ६३ वटा दाबीमध्ये, सामुद्रिक बीमातर्फ ६ वटा, इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ४ वटा, सम्पत्ति बीमातर्फ १० वटा, सार्वजनिक मोटर बीमातर्फ ३२ वटा र निजी मोटरबीमातर्फ ११ वटा माग दाबी परेको बिमा प्राधिकरणले जनाएको छ।

रसुवामा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको थियो, जसका कारण विगत दुई हप्तादेखि रसुवागढी हुँदै चीनतर्फको व्यापार ठप्प भएको छ। बाढीले निर्माणाधीन ड्राइपोर्टका साथै थुप्रै सवारी साधन र कन्टेनरहरू समेत बगाउँदा ठूलो भौतिक क्षति भएको न्युज एजेन्सी नेपालले जनाएको छ।

यस घटनाले मनसुनको समयमा भौतिक सम्पत्ति र व्यावसायिक पूर्वाधारको सुरक्षाका लागि बिमाको महत्त्वलाई फेरि एकपटक उजागर गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ