प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच सहमतिमै समस्या समाधान गर्ने समझदारी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
1k
Shares
काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीबीच पार्टीभित्रका समस्याहरू सहमति र समझदारीबाटै समाधान गर्ने समझदारी बनेको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको 'वान टु वान' वार्ताका क्रममा दुई नेताबीच यो निष्कर्ष निस्केको हो।
छलफलबारे जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले वार्ता सकारात्मक ढंगले अघि बढेको र राजनीतिले नै सम्बन्धलाई अघि बढाउने बताए। उनका अनुसार, दुई नेताले आज आफूलाई लागेका कुराहरू खुलेर राखेका छन्। अब कुनै पनि हालतमा एकले अर्कालाई विभाजन गरेर अघि बढ्न सक्ने स्थिति नरहेकोमा सहमति जुटेको गौतमले जानकारी दिए। अब पार्टीमा हुने गतिविधिहरू सहमति र छलफलबाटै अघि बढाउने निष्कर्ष निकालिएको छ।
गौतमले भने, "छलफल सकारात्मक ढंगले अघि बढेको छ। राजनीतिले नै सम्बन्धलाई टुङ्गो गर्दछ। सम्बन्धले राजनीतिको टुङ्गो गर्दैन। आज राजनीतिक मुद्दाहरूमा, दृष्टिकोणमा समानता हुने परिस्थिति निर्माण भइसकेपछि राजनीतिले नै सम्बन्धलाई सुदृढ बनाएर लैजान्छ भनेझैँ आज खुलेर पार्टीको आन्तरिक जीवन, विधान महाधिवेशन, त्यसको तयारीका सन्दर्भमा र अहिलेका राष्ट्रिय राजनीतिका विकसित घटनाक्रमका बारेमा दुवै नेताहरूको बीचमा खुलेर एकले अर्कालाई लागेका कुरा राख्नुभएको छ। अब कुनै पनि हालतमा एकले अर्कालाई विभाजन गरेर अघि जानसक्ने परिस्थिति बन्दैन। हामी जे गर्छौं सहमति र छलफलबाट नै टुङ्ग्याउँछौँ भन्नुभएको छ।"
प्रचार विभाग प्रमुख गौतमले एकले अर्कालाई निषेध गरेर अघि बढ्ने स्थिति नरहेको निष्कर्ष निस्किएको पनि बताए।