arrow

मनसुनी गतिविधि सक्रिय

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, देशभर वर्षा जारी रहने [भिडियो]

विगत २४ घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा, मधेसमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
weather-today.jpg

काठमाडौँ । देशका विभिन्न भागमा मनसुनी गतिविधि सक्रिय रहँदा आगामी केही दिनसम्म वर्षा जारी रहने मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् शान्ति कँडेलले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेकी छिन्।

कँडेलका अनुसार, विगत २४ घण्टामा कोशी र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा मापन भएको छ। धनकुटामा १९५ मिलिमिटर र कास्कीको लुम्लेमा १९४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। अन्य कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि भारीदेखि धेरै भारी वर्षा भएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना देखिएको छ। त्यस्तै, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै भारी वर्षा को सम्भावना रहेको कँडेलले बताइन्। देशव्यापी रूपमा भने सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुनेछ। आगामी तीन दिनसम्म देशका सबै प्रदेशमा वर्षा जारी रहने उनको भनाइ छ।

मौसमविद् कँडेलले दैनिक रूपमा वर्षा भइरहेको स्थानमा थोरै वर्षाले पनि बाढी वा पहिरोको जोखिम बढाउन सक्ने बताएकी छिन्। नदीहरूमा पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई थप सावधानी अपनाउन आग्रह गरिएको छ। सडक यातायातमा पनि विशेष सावधानी अपनाउनु पर्ने र आफ्नो बसोबास भएको स्थानमा बाढी वा पहिरोको जोखिम छ कि छैन भनी ध्यान दिनुपर्ने उनको सुझाव छ।

धनुषास्थित जल तथा मौसम विज्ञान विभागको तुल्सी केन्द्रमा विगत २४ घण्टामा ६६ मिलिमिटर वर्षा मापन भएको छ, जुन भारी वर्षा मानिन्छ। मधेस प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ र आगामी दिनमा पनि सुख्खा हुने अवस्था नरहेको कँडेलले बताइन्। आज राति मधेस प्रदेशमा भारी वर्षाको सम्भावना भए पनि ठूलो झरी पर्ने सम्भावना भने नरहेको उनले स्पष्ट पारिन्। तराईमा खडेरी लाग्ने अवस्था नरहे पनि पर्याप्त पानी भने नपर्ने उनको भनाइ छ।

कँडेलका अनुसार, मनसुनी प्रणाली नेपालमा भित्रिने बित्तिकै धेरै वर्षा नहुने अवस्था हुन्छ, तर यस वर्ष मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकै आएर पूर्ण रूपमा सक्रिय भएको छ। यसका कारण पूर्वतिर बढी वर्षा हुने अवस्था छ, र यही मनसुनी वायुको प्रभावले गर्दा मधेसमा पनि वर्षा भइरहेको छ। पहाडी क्षेत्रमा वर्षा केन्द्रित हुनु नेपालको भौगोलिक कारणले भएको उनले बताइन्, जहाँ जलवाष्पयुक्त हावा पहाडमा ठोक्किएर बादल बन्ने र वर्षा हुने गर्दछ।

काठमाडौंमा पनि साधारणतया दिनभर मौसम बदली रहने र वर्षाको सम्भावना प्रबल रहेको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ