गण्डकी। गए रातिदेखि गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा भइरहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासका क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन भनेको छ।
गण्डकी प्रदेश सरकारले पनि प्रदेशका सबै जिल्लामा उच्च सतर्कता अपनाउन सर्वसाधारण र सरोकारवाला सबै पक्षलाई अनुरोध गरेको छ। आइतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक रूपमा सूचित गर्दै सावधानी र उच्च सतर्कता अपनाएर मात्र यात्रा गर्न भनेको छ।
सूचनामा भनिएको छ, “गण्डकी प्रदेशका विभिन्न ठाउँमा गए रातिदेखि भएको वर्षाका कारण जनधनको क्षति भएका जानकारी आइरहेका छन्। वर्षाका कारण नदी, खहरे खोलाखोल्सी र तालहरूमा पानीको सतह निरन्तर बढिरहेको छ। यसले थप जोखिम निम्त्याएको छ। बाढी पहिरो, डुबानको खतरा बढेको छ। यस्ता क्षेत्र वरपर बस्तीका नागरिकहरू सचेत रहनुहुन अनुरोध छ।”
प्रदेश सरकारले कहींकतै विपत्तिमा परेका भए तुरुन्त स्थानीय जनप्रतिनिधि, प्रहरी, स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार मातहतका निकायमा खबर गर्न आग्रह गरेको छ। विपद्को सामना गर्न र प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा गण्डकी प्रदेश सरकार सधैँ नागरिकको साथमा रहेको जनाइएको छ।