arrow

चितवनमा डेंगी फैलियो तीव्र : सङ्क्रमण उच्च, मृत्युदर न्यून

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
dengue--ji-ha.jpeg

नारायणगढ (चितवन)। चितवन जिल्लामा गत आर्थिक वर्षमा ३,८८९ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो। जनस्वास्थ्य कार्यालयका अनुसार, सङ्क्रमितमध्ये १,५४८ पुरुष र १,४७२ महिला गरी ३,०२० जना चितवन जिल्लाभित्रकै बासिन्दा थिए भने अन्य जिल्लाबाट आएका ८६९ जनामा पनि डेंगी देखिएको थियो।

गत वर्ष सङ्क्रमितमध्ये अधिकांश भरतपुर महानगरपालिकामा (१,१७१ जना) पाइएका छन्। यसबाहेक, रत्ननगर नगरपालिकामा ९०७, इच्छाकामना गाउँपालिकामा ४६७, खैरहनी नगरपालिकामा २२३, राप्ती नगरपालिकामा १२४, कालिका नगरपालिकामा ९१ र माडी नगरपालिकामा ३७ जना सङ्क्रमित भएका थिए। डेंगीका कारण गत आर्थिक वर्षमा एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले सङ्क्रमणदर उच्च भए पनि मृत्युदर कम रहेको बताए। गत आवमा १७,३५३ जनाको रगत परीक्षण गरिएको थियो। उनले जिल्लाको मुख्य बजार क्षेत्रमा डेंगीको जोखिम बढी रहेको जानकारी दिए।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २३,८४० परीक्षणमध्ये १,८३१ जनामा डेंगी सङ्क्रमण देखिएको थियो। विगतका वर्षहरूमा डेंगी सङ्क्रमणको अवस्था निम्नानुसार रहेको छ:

आव २०७४/७५: ५९ सङ्क्रमित (१,२९१ परीक्षण)

आव २०७५/७६: ३१ सङ्क्रमित (१,९५१ परीक्षण)

आव २०७६/७७: ४,८०३ सङ्क्रमित (१९,२३० परीक्षण)

आव २०७७/७८: २४३ सङ्क्रमित (१,७१७ परीक्षण)

आव २०७८/७९: ३,३३६ सङ्क्रमित (१४,९७८ परीक्षण)

आव २०७९/८०: ३०३ सङ्क्रमित (५,४५४ परीक्षण)

सङ्क्रमण बढ्न नदिन उच्च सतर्कता अपनाइएको छ। कार्यालयले सातवटै पालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिसँग समन्वय गरी डेंगी नियन्त्रणका उपायहरू अघि बढाएको छ। डेंगी फैलाउने लामखुट्टेको सङ्ख्या बढ्ने मौसमी कारणले गर्दा यस सिजनमा विशेष सतर्क रहन सबैलाई सचेत गराइएको छ।

नेपालमा डेंगी ज्वरो पहिलोपटक सन् २००४ मा चितवनमै एक जापानी पर्यटकमा देखिएको थियो। त्यसपछि सन् २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा पनि यो रोगका बिरामी भेटिएका थिए।

भेक्टर कन्ट्रोल निरीक्षक केसीका अनुसार, डेंगी ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ। यसका मुख्य लक्षणहरूमा आँखाको गेडी र टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने, उच्च ज्वरो आउने र रक्तस्राव हुने पर्दछन्। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने जस्ता लक्षण पनि देखिन सक्छन्। डेंगी ज्वरो विषाणुका कारण लाग्ने भएकाले यसको खास उपचार छैन।

जनस्वास्थ्य कार्यालयले डेंगी ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै रहेको बताएको छ। आफू बस्ने ठाउँ वरपर पानी जम्न सक्ने खाली बट्टा, पुराना टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू जस्ता स्थानमा पानी जम्न नदिन भेक्टर कन्ट्रोल केसीले सबैलाई आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ