arrow

आर्थिक वर्ष २०८१/८२ मा धितोपत्र बजारमा ऐतिहासिक रेकर्ड, २१ खर्बभन्दा बढीको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
nepse-nepal-stock-exchange-building.jpg

काठमाडौँ। अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला पनि आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारले ऐतिहासिक रेकर्ड कायम गरेको छ। यस आर्थिक वर्षमा बजारका अन्य परिसूचकमा पनि उल्लेख्य सुधार देखिएको छ।

नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार, आर्थिक वर्ष २०८०/८१ मा रु. ७ खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्र कारोबार भएकामा आव २०८१/८२ मा यो रकम बढेर रु. २१ खर्ब २४ अर्ब ९१ करोड पुगेको छ। यो कारोबार रकम आव २०८०/८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी हो। यसअघि आव २०७७/७८ मा सबैभन्दा धेरै (अर्थात् रु. १४ खर्ब ५४ अर्ब ४४ करोड) को कारोबार भएको थियो।

त्यसैगरी, वर्ष २०८१ को असार मसान्तमा रु. ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई रु. ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ। आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा सूचीकृत कम्पनीको सङ्ख्या २७२ पुगेको छ। सो आवमा मर्जर तथा एक्विजिसनका कारण तीन कम्पनी सूचीकरणबाट हटेका छन्।

आर्थिक वर्ष २०८१/८२ मा प्रथम सार्वजनिक निष्कासन (आईपीओ) मार्फत चारवटा कम्पनी थपिएका छन्। यसबाहेक, प्रथम निष्कासनमार्फत ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्कासनमार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ हजार कित्ता सेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाइ र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन्।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आव २०८१/८२ मा भएको उत्साहजनक कारोबारका लागि नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, अन्य नियामक निकाय, कारोबार सदस्य, सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, सीडीएस एन्ड क्लियरिङ लिमिटेड, लगानीकर्ता, सञ्चारकर्मीसहित पुँजी बजारका सबै सरोकारवालालाई धन्यवाद दिएको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ