काठमाडौँ । आईएमई पे र खल्ती वालेट मर्ज भई साउन १ गतेबाट ‘खल्ती बाइ आईएमई’ नाममा एकीकृत कारोबार शुरू भएको छ। यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् । यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।
सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आईएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ ।यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने छ। यी दुई वालेट मर्जरमा जानु अघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए ।
ब्याज दिने एक मात्र वालेट को रूपमा चिनिएको आईएमई पे रेमिटेन्स, इनड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्ना इनोभेटिभ फिचरहरूका कारण युवापुस्तामा रुचाइएको थियो।
अब यी दुवै वालेट मर्ज भएर आ–आफ्ना उत्कृष्ट सेवाहरूलाई अझ परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा प्रदान गर्नेछन् । साविक आईएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आईएमई’ मा माइग्रेट हुने सुविधा उपलब्ध छ । यस प्रक्रिया मार्फत आईएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन्। खल्ती प्रयोगकर्ताहरूले चाहिँ आफ्नो एप अपडेट गरी नयाँ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।
आईएमई पे – आईएमई ग्रुप अन्तर्गत सञ्चालन हुँदै आएको थियो। अर्कोतर्फ चार जना सह–संस्थापकद्वारा स्थापना गरिएको खल्तीमा पछि वल्डलिंक, त्रिवेणी ग्रुप जस्ता कर्पोरेट लगानीकर्ताहरू आबद्ध भएका थिए ।
आईएमई डिजिटल सोलुसन्स का अध्यक्ष कृष्णप्रसाद शर्माले आईएमई पे र खल्ती बीचको मर्जरबाट बनेको आईएमई खल्ती लिमिटेड ले डिजिटल नेपा को सम्भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
खल्ती का अध्यक्ष मनोज कुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि यो मर्जर ऐतिहासिक कदम भएको र आईएमई खल्ती लिमिटेड ले देशभर वित्तीय पहुँचको नयाँ युग शुरू गर्ने बताए ।
आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजनाहरू रहेको जानकारी दिए ।
दुवै कम्पनीले बिहीबार विशेष कार्यक्रम आयोजना गरी मर्जरको औपचारिक घोषणासमेत गर्ने छन् । आईएमई पे ले डजिटल सर्भिसेज आईसीटी अवार्ड २०२४, एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स इन द फिन टेक क्याटेगोरी २०२३ र भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२३ मा एक्सिलेन्स इन फिन्टेक पार्टनरशिप अवार्ड प्राप्त गरेको थियो।
त्यस्तै, खल्तीले डब्लुआईटीएसए ग्लोबल इनोभेसन एन्ड टेक एक्सिलेन्स अवार्डस् २०२२,२०२३ र २०२४ मा देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने सेवा प्रदायक (एनसीएचएल) बाट लगातार २ वर्ष र नेपाल राष्ट्र बैंकबाट डिजिटल कारोबारमा पुर्याएको योगदानको उच्च कदरस्वरूप सम्मान प्राप्त गरेको थियो।