arrow

गाजा युद्धविराम वार्तामा गतिरोध: हमासद्वारा इजरायलमाथि दीर्घकालीन सैन्य उपस्थितिको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
israel-gaza-25-3-20-ap.jpg

काठमाडौँ । हमासले इजरायलमाथि गाजा पट्टीमा आफ्नो सैन्य उपस्थितिलाई दीर्घकालीन रूपमा कायम राख्न खोजेको गम्भीर आरोप लगाएको छ। उसले कतारको राजधानी दोहामा भइरहेको अप्रत्यक्ष युद्धविराम वार्तामा कुनै ठोस प्रगति नभएको दाबी पनि गरेको छ।

कतारको राजधानी दोहामा हाल जारी अप्रत्यक्ष वार्ताको दोस्रो हप्ता चलिरहेको छ। यस वार्ताको मुख्य विषय नै गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ती रहेको छ। हमासले गाजाबाट इजरायली सेनाको पूर्ण सैनिक फिर्ताको माग गरिरहेको छ। तर, उसले इजरायलको त्यो प्रस्ताव अस्वीकार गरिसकेको छ, जसअनुसार गाजाको ४० प्रतिशतभन्दा बढी भूभागमा इजरायली सेना रहने व्यवस्था गरिएको थियो।

इजरायली सञ्चारमाध्यम ’कान’ ले बुधबार एक अज्ञात विदेशी स्रोतलाई उद्धृत गर्दै इजरायलले फौज फिर्तासम्बन्धी नक्साहरू परिमार्जन गरिरहेको दाबी गरेको थियो। तर, हमासको राजनीतिक ब्यूरोका सदस्य बासेम नाइमले यस दाबीलाई खण्डन गर्दै भने, "इजरायलले हालसम्म गाजाबाट फौज फिर्ता गर्ने कुनै नयाँ वा संशोधित नक्सा प्रस्तुत गरेको छैन।"

उनका अनुसार, "हाल गाजाको सम्पूर्ण क्षेत्र इजरायली सैनिक नियन्त्रणमा छ। स्थलस्थित परिस्थितिहरूले इजरायलको दीर्घकालीन नियन्त्रण कायम राख्ने उद्देश्य स्पष्ट पार्छ।" नाइमले थपे, "इजरायलले गाजाबाट फौज हटाउने वा युद्ध अन्त्य गर्ने कुनै इच्छाशक्ति देखाएको छैन, जुन कुरा उसले वार्तामा र मध्यस्थकर्ताहरूसामु दाबी गरिरहेको भनाइको विपरीत हो।"

इजरायलले भने हमासमाथि वार्तामा लचिलोपन नदेखाएको आरोप लगाउँदै आएको छ। यद्यपि, मध्यस्थकर्ताको भूमिकामा रहेको कतारले मंगलबार वार्ता ’गतिरोधमा नरहेको’ र वार्ताका लागि कुनै निश्चित समयसीमा तय नगरिएको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ