आज साउने सङ्क्रान्ति: देशभर स्नान, दान र लुतो फालेर मनाइँदै
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
554
Shares
काठमाडौँ। सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिनलाई आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहेको छ। साउनदेखि नै सूर्य दक्षिणतर्फ हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाउने चलन छ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, असार महिनाभर कृषि कर्ममा व्यस्त हुँदा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको हो।
एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन्। परम्पराअनुसार, कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ’कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने चलन छ।
लुतो फाल्दा आ-आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ।
साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ। यस महिनामा महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन्। साउन महिनामा विशेषगरी हरियो कपडा र चुराको बिक्री बढ्ने गरेको छ। धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन्।