देशभर मनसुनी वर्षाको प्रभाव: बागमतीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
621
Shares
काठमाडौँ। नेपालमा हाल मनसुनी वायुको प्रभाव र भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको असर देखिएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार, यी पाँचै प्रदेशका एकदुई स्थानमा भने भारी वर्षा हुनसक्छ। देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना पनि छ।
सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेषगरी सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सर्वसाधारणलाई सावधान रहन आग्रह गरिएको छ।
ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकारवाला सबै निकायमा अनुरोध गरिएको छ।