पाँच प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी-पहिरो र डुबानको जोखिम, सावधान रहन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
923
Shares
काठमाडौँ। नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेकाले देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना छ।
कोशी प्रदेशको केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ भने मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा पनि भारी वर्षा हुन सक्नेछ। देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात को सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको तराई भेग र मधेश प्रदेशको केही स्थानमा हुरी चल्ने सम्भावना पनि छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागका केही स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना छ।
महाशाखाले आज बिहान ६:०० बजे जारी गरेको नियमित मौसम बुलेटिनअनुसार कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात को सम्भावना पनि छ। मधेश प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना पनि रहेको छ।
सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहाव को जोखिम रहेको महाशाखाले बताएको छ। सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सर्वसाधारणलाई सावधान रहन अनुरोध गरिएको छ।
ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ।