सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढ्यो: एमाले सांसद गिरी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
607
Shares
काठमाडौँ। नेकपा (एमाले) का सांसद पदम गिरीले मुलुकमा सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गिरीले लोकतन्त्र, गणतन्त्र र संघीयता स्थापना भए पनि राजनीतिक दलहरूले सुशासनका पक्षमा अपेक्षित काम गर्न नसकेको बताए।
सांसद गिरीले राजनीतिक दलहरूले सुशासन कायम गर्ने सवालमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै सिंगो संसदले समीक्षा गर्नुपर्ने बेला भएको औँल्याए। उनले सुशासन कायम गर्न नसकेकै कारण मुलुकमा भएका परिवर्तनहरूलाई जनताले चुनौती दिन थालेकोतर्फ पनि सचेत गराए।
उनले भने, "हामीले सुशासनको मामिलामा जस्तो काम गर्नुपर्थ्यो हामीले त्यस्तो काम गर्न सकेका छैनौँ। यो सत्य हो। यसमा सिंगो सदनले आत्मसमीक्षा गरौँ। देशमा विद्यमान राजनीतिक दलहरू पनि यसमा समीक्षा गरौँ। हामीले मुलुकमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्यायौँ। सरकार परिवर्तनहरू गर्यौँ। तर हामीले मुलुकमा सुशासन कायम गर्न नसक्दा जनतामा वितृष्णा र निराशा बढेको छ। हामीले ल्याएका परिवर्तनहरूलाई पनि चुनौती दिने अवस्थाहरू सिर्जना भएका छन्। यसबारे सरकार र सबै पार्टीहरूले जिम्मेवारपूर्वक सोच्नुपर्छ भन्ने म ठान्दछु।"
जनतामा बढ्दो असन्तोष र आक्रोशलाई सम्बोधन गर्न समग्र प्रणालीको पुनरावलोकन जरुरी रहेको सांसद गिरीको भनाइ छ।