झापाको बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
776
Shares
झापा। डिभिजन वन कार्यालयले झापाको मेचीनगर–४ बाहुनडाँगीका हात्ती प्रभावित बासिन्दालाई चार हजार कागतीका बिरुवा निःशुल्क वितरण गरेको छ। जंगली हात्तीले बालीमा पुर्याउने क्षति कम गर्न र बाली परिवर्तनलाई प्रोत्साहन गर्न यो अभियान सुरु गरिएको कार्यालय प्रमुख भरतबाबु श्रेष्ठले बताए।
श्रेष्ठले जंगली हात्तीले बाली खाएर सखाप पारेको गुनासो धेरै आएको बताए। उनले भने, "कागतीबाट आम्दानी पनि राम्रो हुन्छ र हात्तीले नखाने हुँदा हामीले सो क्षेत्रका बासिन्दाको बाली परिवर्तनका लागि कागतीका बिरुवा उपलब्ध गराएका हौँ।"
मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुन कार्कीले वन कार्यालयबाट प्राप्त कागतीका बिरुवा वडा कार्यालयमार्फत तीन सय परिवारलाई वितरण गरिएको बताए। हात्तीले सुपारीका बोट भाँचेर ठूलो क्षति पुर्याउन थालेपछि सुपारी बगानभित्र रोप्नका लागि कागतीका बिरुवा बाँडिएको उनको भनाइ छ।
कार्कीका अनुसार, कागतीको बोट काँडेदार र फल अमिलो हुने भएकाले हात्तीका लागि अरुचिकर हुन्छ। कागती हुर्किएपछि किसानले फल बिक्री गरेर आम्दानी पनि गर्न सक्नेछन् र यसले हात्ती नियन्त्रणमा पनि सहयोग पुग्नेछ। यही कारणले बाहुनडाँगीका बासिन्दा कागती रोप्ने अभियानमा लागेका छन्। वडा कार्यालयले प्रतिपरिवार दुईदेखि २५ वटासम्म कागतीको बिरुवा वितरण गरेको छ। "कागती लगाएपछि सुपारी पनि बच्ने भयो, थप आम्दानी पनि हुने भयो," वडाध्यक्ष कार्कीले भने, "कागती लगाएको ठाउँमा हात्ती पस्दैन।"
भारतबाट जंगली हात्ती प्रवेश गर्ने मुख्य नाकाका रूपमा बाहुनडाँगी परिचित छ। यहाँ दशकौँदेखि हात्तीसँगको द्वन्द्वका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ। हात्ती नियन्त्रण गर्न र बाली जोगाउनका लागि विगत १० वर्षदेखि सीमावर्ती र जंगल छेउमा विद्युतीय घेराबेरा लगाउने काम गरिँदै आएको छ।
यसका साथै, हात्तीले नखाने बालीका रूपमा तोरी र चियाखेती पनि व्यापक मात्रामा गरिँदै आएको छ। मौरीसँग हात्ती डराउने भएकाले कतिपय स्थानीयवासीले सुरक्षाका लागि मौरीपालन पनि गर्दै आएका छन्।