स्तन क्यान्सर पहिचान र उपचारका लागि ‘म्यामोग्राफी’ सेवा
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
542
Shares
फाइल तस्बिर
लुम्बिनी । महिलाको स्तन क्यान्सर पहिचान र उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ ।
साथै स्तनसम्बन्धी अन्य रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ‘ब्रेस्ट क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेबहादुर सारुले म्यामोग्राफी तथा ‘ब्रेस्ट क्लिनिक’ सेवाको शुभारम्भ गरे। उनले यहाँको स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको बताए ।
त्यसैगरी स्वचालित ‘ल्याब रिपोर्ट डिस्प्याच मेसिन’बाट सेवाग्राहीले आफै सम्पूर्ण रिपोर्ट बुझ्न पाउने भएका छन् । मन्त्री सारुले स्वास्थ्य सेवालाई सबैको पहुँचमा विस्तार गर्ने सरकारको दायित्व भएको उल्लेख गरे ।
सहज रुपमा जनताले स्वास्थ्य सेवा प्राप्त गर्नुपर्ने बताउँदै उनले लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो अवधिमा गरेका सुधार तथा सेवामा विशिष्टीकरणले जनविश्वास बढ्दै गएको बताए ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालको सेवालाई विशिष्टीकृत गर्ने र सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन विकास समिति प्रतिबद्ध भएको बताए ।
अस्पतालमा शुभारम्भ गरिएका नयाँ सेवाबारे जानकारी गराउँदै मेडिकल सुपेरिटेन्डेन डा इन्द्र ढकालले सेवालाई विशिष्टीकृत गर्ने सवालमा उल्लेख्य प्रगति हासिल हुँदै गएको बताए ।
सङ्घीय सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत व्यवस्थापन महाशाखाको करिब रु दुई करोड ८० लाख लागतमा म्यामोग्राफी मेसिन खरिद गरी जडान गरिएको हो ।
इटालियन प्रविधिको यस मेसिनले स्तनको धेरै कोणबाट एक्सरे निकाल्नुका साथै यसलाई कम्प्युटर माध्यमबाट ‘थ्रिडी’ स्वरुपमा पनि देखाउँछ, जसले रोग पहिचान गर्न सजिलो हुन्छ ।
यस मेसिनले कम विकिरण फाल्ने हुँदा यहाँ काम गर्नेहरुको स्वास्थ्यका लागि उपयुक्त हुने र म्यामोग्राफीले कुनै महिलामा स्तन क्यान्सर हुने सम्भावनालाई तीन/चार वर्ष पहिले पत्ता लगाउन सकिने मेसु ढकालले बताए ।
रु १० लाख लागतमा जडान गरिएको दुई वटा डिस्प्याच मेसिनमा सेवाग्राहीले आफ्नो टिकटमा रहेको क्युआर स्क्यान गरेपछि सम्पूर्ण मेडिकल रिपोर्ट तथा ल्याब रिपोर्टका विवरण पेपरमा प्रिन्टसहित पाउने छन् । रासस