ऐतिहासिक स्थल सिन्धुलीगढी कुहिरोसँग लुकामारी खेल्दै [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
645
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
सिन्धुली । ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी आन्तरिक पर्यटकका लागि राम्रो घुमफिर गन्तव्य बनेको छ । प्राकृतिक सौन्दर्यका साथै नेपालको इतिहास बुझ्न पनि मानिसहरु यहाँ पुग्ने गर्छन् । मानिसहरु फोटो–भिडियो खिचेर रमाइरहेका देखिन्छन् ।
काठमाडौं, जनकपुर, वीरगञ्जलगायत नेपालका प्रमुख सहरहरुबाट यातायातका साधन सहजै पुग्ने भएपछि गढी आउने पर्यटक बढेका हुन् । इष्ट इण्डिया कम्पनीका फौजसँग नेपाली फौजले घमासान युद्ध गरी विजयी हासिल गरेको ऐतिहासिक स्थल हो सिन्धुलीगढी ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिकास्थित सिन्धुलीमाढीबाट करिब १६ किलोमिटर उत्तरतर्फ रहेको सिन्धुलीगढी चारैतिर हरियाली फाँटको बीचमा अवस्थित छ । बर्खा सिजनमा यो ठाउँ कुहिरोसँग लुकामारी खेलिरहेको हुन्छ ।
यो ठाउँ काठमाडौँबाट करिब १५० किलोमिटर पूर्वमा रहेको छ । ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ ।
सिन्धुलीगढीमा सानो र ठूलो गरी दुईवटा बेग्लाबेग्लै गढी छन् । ठूलो गढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो ।
त्यसबेला ठूलो गढीमा तोप, गोलाबारुद, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानी संकलन गरिन्थ्यो । सानो गढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास रहेको छ ।
सिन्धुलीगढीको प्रवेशद्वार नजिकैबाट सिँढी हुँदै करिब १५–२० मिनेट उकालो चढेपछि गढीको मुख्य द्वारमा पुगिन्छ । गढीको माथिल्लो भागमा एउटा जीर्ण तथा सुख्खा इनार देख्न सकिन्छ ।
युद्धका समयमा गोर्खाली फौजका लागि पानीको कमी नहोस् भनेर गढीको एक छेउमा इनार खनेर पानीको भण्डारण गरिन्थ्यो । अन्य थुप्रै ऐतिहासिक स्थलहरु यहाँ रहेका छन् ।
गढीको उत्तरतर्फ गौरीशंकर हिमालको पृष्ठभूमिमा तामाकोशी नदी बगेको देखिन्छ भने दक्षिणतर्फ हरियाली वनले ढाकेको चुरे पहाडसँगै तराईको समथर मैदान अवस्थित छ ।