ईयू र इन्डोनेशियाबीच स्वतन्त्र व्यापार सम्झौतामा राजनीतिक सहमति
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
1.2k
Shares
काठमाडौं। युरोपेली सङ्घ (ईयू) प्रमुख उर्सुला भोन डेर लायन र इन्डोनेशियाका राष्ट्रपति प्रभाओ सबियान्तोले आइतबार एक महत्त्वपूर्ण घोषणा गर्दै स्वतन्त्र व्यापार सम्झौतामा राजनीतिक सहमति जुटेको जानकारी दिएका छन्। विश्वव्यापी व्यापारमा अमेरिकी नीतिका कारण बढ्दो अनिश्चितताका बीच यो कदमलाई निकै महत्त्वपूर्ण मानिएको छ।
ब्रसेल्समा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ईयू प्रमुख भोन डर लायनले भनिन्, “हामी अहिले चुनौतीपूर्ण समयमा छौँ, जहाँ आर्थिक अनिश्चितता र राजनीतिक अस्थिरता बढेको छ। यस्तो समयमा हामीजस्ता साझेदारहरूले अझ नजिक भएर काम गर्न आवश्यक छ। आज हामी हाम्रो साझेदारीमा ठूलो प्रगति गरिरहेका छौँ।” उनले थपिन्, “म खुसीसाथ भन्न चाहन्छु कि हामीले महत्वाकांक्षी स्वतन्त्र व्यापार सम्झौतामा राजनीतिक सहमति हासिल गरेका छौँ।”
युरोपेली सङ्घका २७ राष्ट्र र दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेशियाबीच सन् २०१६ देखि व्यापार र लगानी बढाउनका लागि यो सम्झौतामा वार्ता हुँदै आएको थियो। युरोपेली आयोगले आइतबारको सहमतिलाई ठूलो उपलब्धि भन्दै आगामी सेप्टेम्बरमा यो औपचारिक रूपमा टुंगिने बताएको छ।
उर्सुला भोन डेर लायनले दुई पक्षबीचको व्यापार सम्बन्धमा अझ धेरै सम्भावना बाँकी रहेको भन्दै यो सहमति सही समयमा आएको बताएकि छन्। उनले नयाँ सम्झौताले नयाँ बजार खोल्ने र मुख्य उद्योग, व्यापार, कृषि, मोटर उद्योग र सेवा क्षेत्रमा नयाँ अवसरहरू ल्याउने विश्वास व्यक्त गरिन्।
अमेरिकाले उच्च भन्सार शुल्क लगाउने धम्की दिएपछि युरोपेली सङ्घले विश्वका महत्त्वपूर्ण साझेदारहरूसँग सम्बन्ध बलियो बनाउन थप प्रयास गरिरहेको छ। इन्डोनेशियासँग भएको यो ठूलो राजनीतिक सहमति ईयूका लागि ठूलो सफलता भएको र यसले उनीहरूलाई नयाँ र खुला बजार खोज्न मद्दत गर्ने फोन डर लायनको भनाइ छ।