arrow

समयमै वर्षा नहुँदा धान रोपाइँमा ढिलाइ: ब्याडमै सुक्न थाले धान, किसान चिन्तित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
paddy-planting-ropai-2080-02-27.jpg

धरान (सुनसरी)। सुनसरीका किसानहरूले यस वर्ष समयमै वर्षा नहुँदा ठूलो समस्या भोगिरहेका छन्। असार महिना सकिन लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधाको अभावले धान रोपाइँ हुन सकेको छैन। जसका कारण किसानहरूले लगाएको धानको ब्याडमै सुक्न थालेको छ, जसले उनीहरूलाई चिन्तित बनाएको छ।

बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टापु, चिलैया र गरैया क्षेत्रका किसानहरू मुख्यतया आकाशे पानीमा निर्भर छन्। स्थानीय कृषक सन्तोष चन्द्रवंशीले भने, "यो वर्ष पानी पर्ने आशा त थियो, तर चाहिएको बेला पानी परेन। हामी आकाश हेरेर बसेका छौँ, धानको रोपो सुक्न थालेको छ।" उनका अनुसार विद्युत् आपूर्ति सबै क्षेत्रमा नपुगेकाले पम्पसेटमार्फत पनि सिँचाइ गर्न सकिएको छैन। यद्यपि, बराहक्षेत्र नगरपालिकाले श्रीलङ्का टापुका किसानलाई ४३ थान विद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र १५५ थान त्रिपाल अनुदानमा वितरण गरेको छ।

रामधुनी नगरपालिकाका किसान रामभुवन रायले आफूले दुई बिघामा रोपाइँ गर्दै आएकोमा अहिलेसम्म आधा खेतमा पनि रोपाइँ गर्न नसकेको बताए। वर्षामा निर्भर उनीहरूजस्ता किसानहरूका लागि यही अवस्था रहिरहेमा धान बाली नै गुम्ने खतरा रहेको उनको भनाइ छ। कोशी गाउँपालिका–७ की किसान सरस्वती मियाँले जेठमै ब्याड तयार पारे पनि पानी नपरेपछि सुक्न थालेको बताइन्।

धरान उपमहानगरपालिका–६ का किसान बुद्धिमान तामाङका अनुसार कुलोमा पानी नआएपछि रोपाइँ गर्न सकिएको छैन। “पोहोर साल यही समयसम्म रोपाइँ सकिएको थियो, तर यसपाली तीन भागमा एक भाग पनि रोपाइँ सकिएको छैन”, तामाङले भने।

कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निल कमल सिंहका अनुसार, सुनसरीमा कुल ४८ हजार ९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्दछ। गत वर्ष असारको अन्त्यसम्म जिल्लामा करिब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। तर, यस वर्ष सोही अवधिमा ३२ प्रतिशत मात्र रोपाइँ भएको छ, जसले धान उत्पादनमा ठूलो असर पर्ने सङ्केत गर्छ।

किसानहरूले समयमै सिँचाइको व्यवस्थाका साथै मल, बीउ र अन्य कृषि उपकरणमा अनुदानको माग गरिरहेका छन्। केही किसानले निजी स्रोतबाट सिँचाइको व्यवस्था मिलाउने प्रयास गरे पनि सबैका लागि त्यो सम्भव नहुने भन्दै सरकारी तहबाट तत्काल राहतको माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ