रहेनन् साढे सात सय भन्दा बढी फिल्म खेलेका दक्षिणका लोकप्रिय खलनायक कोटा श्रीनिवास
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
971
Shares
काठमाडौँ । सन अफ सत्यमूर्ति, टेम्पर, येवादु जस्ता प्रसिद्ध फिल्महरूमा खलनायकको भूमिका निर्वाह गरेका दक्षिणका लोकप्रिय खलनायक कोटा श्रीनिवासको निधन भएको छ। उनको आइतबार निधन भएको हो ।
उनी ८३ वर्षका थिए । उनले गत बिहीबार मात्रै आफ्नो ८३ औं जन्मदिन मनाएका थिए । कोटा लामो समयदेखि बिरामी थिए ।
कोटा श्रीनिवासले आइतबार बिहान हैदराबादको जुबली हिलस्थित आफ्नो बंगलामा अन्तिम सास फेरे । कोटा श्रीनिवासले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ७५० भन्दा बढी फिल्महरूमा अभिनय गरेका थिए ।
उनलाई सन्२०१५ मा पद्मश्रीबाट सम्मान गरिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन अग्रज अभिनेता चिरञ्जीवी पुगेका थिए ।
सफल फिल्म करियरको अलावा, कोटा श्रीनिवासले राजनीतिमा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनी १९९९ देखि २००४ सम्म आन्ध्र प्रदेशको विजयवाडा पूर्वका विधायक थिए ।
तेलङ्गाना र आन्ध्र प्रदेशका मुख्यमन्त्रीहरूले श्रद्धाञ्जली अर्पण गरे
तेलङ्गानाका मुख्यमन्त्री रेवन्त रेड्डीले भावुक हुँदै लेखे, ‘प्रख्यात अभिनेता कोटा श्रीनिवास राव गरुको निधन गहिरो शोक हो। उनको अनुपस्थिति फिल्म उद्योगको लागि अपूरणीय क्षति हो। कोटा गरु अब भौतिक रूपमा हामी माझ नभए पनि, उनले खेलेका भूमिकाहरू मार्फत उनी तेलुगु जनताको हृदयमा सधैं बाँच्नेछन्। म भगवानसँग प्रार्थना गर्छु कि उनको आत्माले शान्ति पाओस्, म उनको परिवारका सदस्यहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’
कोटा श्रीनिवासलाई श्रद्धाञ्जली अर्पण गर्दै आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले लेखे, ‘आफ्नो भूमिकाले सिनेमा दर्शकहरूको मन जित्ने प्रसिद्ध अभिनेता कोटा श्रीनिवास रावको निधन अत्यन्तै दुःखद छ। लगभग चार दशकदेखि सिनेमा र रंगमञ्चको क्षेत्रमा उनको कलात्मक योगदान र उनले निर्वाह गरेका भूमिकाहरू अविस्मरणीय रहनेछन्। खलनायक र चरित्र कलाकारको रूपमा उनले निर्वाह गरेका अनगिन्ती यादगार भूमिकाहरू तेलुगु दर्शकहरूको हृदयमा सधैंभरि कोरिएका रहनेछन्। उनको निधन तेलुगु फिल्म उद्योगको लागि अपूरणीय क्षति हो। १९९९ मा, उनले विजयवाडाबाट विधायकको रूपमा चुनाव जिते र जनताको सेवा गरे। म उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’
कोटा श्रीनिवासका लोकप्रिय फिल्महरू
कोटा श्रीनिवासले अल्लु अर्जुनसँग फिल्म सन अफ सत्यमूर्तिमा काम गरेका थिए । यसबाहेक उनले अमिताभ बच्चनको फिल्म सरकारमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले हिन्दी फिल्म प्रतिघाट, रक्त चरित्र र टाइगर श्राफको बागीमा पनि खलनायकको भूमिका निर्वाह गरेका छन् ।
कोटा श्रीनिवास अन्तिम पटक २०२३ को फिल्म कब्जामा देखिएका थिए । फिल्ममा उपेन्द्र राव, राजकुमार, किचा सुदीप, श्रिया सरनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।