arrow

कांग्रेससँग सहकार्यपछि रास्वपाले एमालेमाथि प्रहार गर्‍यो: महासचिव पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
shankar-pokharel-81-5-20.jpg

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँगको सहकार्यपछि सरकारमा सहभागी नगराउने निर्णय भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एमालेमाथि प्रहार गर्न सुरु गरेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विधान महाधिवेशनको सन्दर्भमा आयोजित केन्द्रीय विभागहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

महासचिव पोखरेलले नेपालको राजनीतिमा मूलधारका राजनीतिक दलहरूको विकल्पका रूपमा आउन खोजेकाहरूले सामाजिक सञ्जालको माध्यमबाट जनतामा ’निराशाको खेती’ गरेको आरोप लगाए। उनले यही निराशाको विकल्पका रूपमा आफ्नो औचित्य पुष्टि गर्ने र त्यसैको जगमा ’पपुलिजम’ लाई प्रवर्द्धन गर्ने काम गरेको बताए।

पोखरेलले भने, "नेपालको राजनीतिमा मूलधारका राजनीतिक दलहरूको विकल्पका रूपमा आउन खोजेकाहरूले एक प्रकारले जनतामा सोसल मिडियाका माध्यमबाट निराशा सिर्जना गर्ने, त्यो निराशाको विकल्पका रूपमा आफ्नो औचित्य पुष्टि गर्ने, त्यही मान्यताको जगमा उनीहरूले नेपालको राजनीतिमा पपुलिजमलाई प्रवर्द्धन गर्ने काम गरे।"

नेकपा एमालेले नयाँ दलको परीक्षण छिटो हुन दिनुपर्छ भन्ने मान्यताका आधारमा रास्वपालाई सत्ताको साझेदार बनाउने नीति लिएको र उनीहरूले मागेका मन्त्रालयहरू (गृहमन्त्रालय, शिक्षामन्त्रालय, श्रम मन्त्रालय, स्वास्थ्य राज्यमन्त्री) समेत पहल गरेर दिएको पोखरेलको भनाइ छ। उनले पपुलिस्टलाई कामद्वारा देखाउनुपर्छ भन्ने मान्यताका लागि ठाउँ दिएको बताए।

पोखरेलले दाबी गरे कि त्यो बेलासम्म रास्वपाका नेताहरूको भरोसाको केन्द्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर रहेको र उनीहरूको उठबस पनि त्यहीँ हुने गर्दथ्यो। तर, कांग्रेससँगको सहकार्यपछि रास्वपालाई सरकारमा सहभागी नगर्ने निष्कर्षमा पुगेसँगै रास्वपाबाट एमालेमाथि प्रहार सुरु भएको उनले बताए।

महासचिव पोखरेलले रवि लामिछाने थुनामा जानुको कारण तल्लो अदालतको फैसला चित्त नबुझेर माथिल्लो अदालतमा जानुको परिणाम भएको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ