अहिले लोकतन्त्र र गणतन्त्रको युग होः राष्ट्रपति पौडेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
602
Shares
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अहिले लोकतन्त्र र गणतन्त्रको युग रहेको बताएका छन्। आइतबार शीतल निवासमा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
राष्ट्रपति पौडेलले आजको युगमा सरकारले सबै नेपालीलाई समान रूपमा न्याय दिनुपर्ने र राज्यका स्रोत तथा साधनमा सबैलाई पहुँच दिनुपर्नेमा जोड दिए। उनले भानुभक्तका योगदानलाई आधुनिक चेतनाका साथ अघि बढाउनु आवश्यक रहेको धारणा राखे।
पौडेलले भानुभक्तको ‘रामायण’ ले नेपालमा पठन संस्कृतिको विकास गरेको र उनका काव्यकृतिले नेपाली समाजमा भावनात्मक एकताको सन्देश प्रवाहित गरेको उल्लेख गरे। उनले नेपाली भाषाको विस्तार तथा साझा भाषिक संस्कृतिको निर्माणमा भानुभक्तको महत्त्वपूर्ण भूमिका रहेको पनि बताए।
राष्ट्रपति पौडेलले भानुभक्तलाई नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताए। उनले प्रत्येक भाषाका स्रष्टाले भानुभक्तबाट प्रेरणा लिएर आ-आफ्नो मातृभाषामा साहित्य सिर्जना गरेको उल्लेख गरे।
भानु साहित्य उद्यानले अघि सारेको चुँदीरम्घालाई साहित्य तीर्थस्थलका रूपमा विकास गर्ने अवधारणाले यस्तै साझा सांस्कृतिक परिवेश निर्माण गर्ने चाहना प्रतिविम्बित गर्न राष्ट्रपति पौडेलले आग्रह गरे। उनले साझा नेपाली संस्कृतिलाई बलियो बनाउनुपर्नेमा जोड दिए।