पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सचेतना अपनाउन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असार २८ शनिबार
514
Shares
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा–हिमपातको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षाले वितण्डा मच्याउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।