काठमाडौँ । नेपालले साफ यू–२० महिला च्याम्पियनशिपमा शानदार शुरुआत गरेको छ । नेपालले बंगलादेशको ढाकामा शरु भएको प्रतियोगिताको पहिलो खेलमा कमजोर प्रतिस्पर्धी भुटानमाथि अधा दर्जन गोल बर्सायो । नेपाल ६–१ ले विजयी भएको हो ।
नेपाललाई जिताउने क्रममा पूर्णिमा राईल ह्याट्रिक गरिन् । सेनु परियारले २ गोल गरिन् । केल्देन वाङ्गमोले सान्त्वना गोल फर्काइन् ।
खेलको नवौं मिनेटमै नेपालले सेनुको गोलमार्फत शुरुआती अग्रता लिएको थियो । १८औं मिनेटमा पूर्णिमाले अग्रता दोब्बर बनाइन् । ४५औं मिनेटमा सेनुले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् ।
५४औं मिनेटमा भुटानले गोल फर्कायो । ६३औं मिनेटमा पूर्णिमाले अग्रता ४–१ मा पुर्याइन् । ८४औँ मिनेटमा पूर्णिमाले ह्याट्रिक पूरा गरिन् । ८९ औँ मिनेटमा पूर्णिमाले चौथो गोल गरिन् ।
योसँगै नेपालले तीन अंक बटुलेको छ । चार टोली सहभागी यस प्रतियोगिता डबल राउन्ड रोबिनका आधारमा खेलाइने छ । नेपालले दोस्रो खेल आइतबार बंगलादेशसँग खेल्नेछ ।