आफूभन्दा १४ वर्ष जेठा अमिताभ बच्चनको पिता बनेका यी कलाकार,पर्दामा संस्कारी तर विवादित
हाम्रा कुरा
प्रकाशित २०८२ असार २७ शुक्रबार
718
Shares
काठमाडौं। बलिउडका ‘संस्कारी बाबूजी’ को रूपमा परिचित हुन् अभिनेता आलोक नाथ। ‘मैने प्यार किया’ र ‘हम आपके है कौन’ जस्ता सफल फिल्मबाट घरघरमा चिनिएका आलोक नाथको व्यक्तिगत जीवन भने सधैँ विवादमुक्त रहन सकेन।
सन् १९५६ जुलाई १० मा जन्मेका आलोक नाथले पिताको डाक्टर बन्ने इच्छाविपरीत कला क्षेत्र रोजे। दिल्ली विश्वविद्यालयमा थिएटरबाट अभिनय यात्रा थालेका उनले नेसनल स्कूल अफ ड्रामाबाट अभिनयको औपचारिक शिक्षा लिए। सन् १९८० मा फिल्म ‘गाँधी’ मा सानो भूमिका पाएपछि उनले २० हजार रुपैयाँ पारिश्रमिक लिँदा आफू छक्क परेको बताएका थिए, जुन त्यसबेला थिएटरमा १० दिनको कमाइभन्दा निकै बढी थियो।
मुम्बईमा केही सङ्घर्षपछि सन् १९८६ मा टिभी सिरियल ‘बुनियाद’ बाट उनलाई ठूलो पहिचान मिल्यो। सन् १९८९ को ब्लकबस्टर फिल्म ‘मैने प्यार किया’ मा भाग्यश्रीको पिताको भूमिका निभाएपछि उनी ‘बाबूजी’ को उपनामले प्रख्यात भए। यसपछि ‘हम आपके हैंकौन..!’, ‘विवाह’ जस्ता दर्जनौं फिल्ममा उनले पिता वा अभिभावकको चरित्रमा आफूलाई स्थापित गरे। सन् १९९० मा आफूभन्दा १४ वर्ष जेठा अमिताभ बच्चनको पिता बनेर उनले ‘अग्निपथ’ मा समेत अभिनय गरे।
करियरको उचाइमा रहँदा पनि आलोक नाथको व्यक्तिगत जीवन विवादबाट अछुतो रहेन। अभिनेत्री नीना गुप्तासँग ८ वर्षको प्रेम सम्बन्ध पिताको असहमतिले टुङ्गिएपछि उनले सन् १९८७ मा आशु सिंह नाथसँग विवाह गरे।
सन् २०१३ मा सामाजिक सञ्जालमा उनीमाथि बनेका ’संस्कारी बाबूजी’ मीम निकै भाइरल भए, जसलाई उनले सकारात्मक रूपमा नै लिएका थिए। तर, सन् २०१८ मा भारतमा चलेको ‘मी टू’ अभियान आलोक नाथका लागि ठूलो झट्का बन्यो। टेलिभिजन लेखिका तथा प्रोड्युसर विंता नन्दाले उनमाथि बलात्कारको गम्भीर आरोप लगाइन्। नन्दाले आलोक नाथले एक पार्टीपछि आफूलाई घर पुर्याउँदा पेय पदार्थमा केही मिसाएर आफ्नो घरमै धेरै पटक बलात्कार गरेको आरोप लगाएकी थिइन्।
यस आरोपपछि अभिनेत्री सन्ध्या मृदुल र दीपिका अमिन लगायत अन्य धेरै महिलाहरूले पनि आलोक नाथको अनुचित व्यवहार र दुर्व्यवहारको अनुभव सार्वजनिक गरे। हिमानी शिवपुरीले पनि आलोक नाथ रक्सी पिएपछि उनको व्यवहारमा ठूलो परिवर्तन आउने गरेको बताएकी थिइन्।
यद्यपि, विंता नन्दाको मामिलामा अतिरिक्त सत्र अदालतले आलोक नाथलाई ५ लाख रुपैयाँको मुचलका (बन्ड) मा अग्रिम जमानत दिएको थियो। जमानत पाएपछि आलोक नाथले अदालत र वकिलको सल्लाहअनुसार आफू चुप रहने बताएका थिए।