अमेरिकामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट दीपेन्द्र चौहानको सहभागिता
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
3.1k
Shares
ब्रुकिङ्स, दक्षिण डकोटा । स्थानीय समाचारपत्रहरू—जुन हाम्रो समुदायको आवाज, पहिचान र आवश्यकताको प्रतिबिम्ब हुन्—तिनको भविष्य, चुनौती र नवप्रवर्तनमाथि केन्द्रित अन्तर्राष्ट्रिय साप्ताहिक पत्रिका सम्पादकहरूको सम्मेलन अमेरिकाको दक्षिण डकोटास्थित साउथ डकोटा स्टेट युनिभर्सिटीमा यही असार २५ गतेदेखि सुरु भएको छ ।
विश्वका अनुभवी सम्पादकहरूको साझा मञ्च बनेको यस सम्मेलनमा नेपालबाट एकमात्र नेपाली प्रतिनिधिका रूपमा पत्रकार दीपेन्द्र चौहान (जन समीक्षा साप्ताहिकका अतिथि सम्पादकको हैसियतमा) सहभागी भएका छन् ।
नेपाल पत्रकार महासंघका पूर्व सचिव तथा विश्व पत्रकार महासंघका संयुक्त सचिव रहेका चौहान सम्मेलनमा सहभागी भएका नेपालका एकमात्र प्रतिनिधि हुन्
। सन् १९५५ मा स्थापना भएको आईएसडब्ल्यूएनईको उद्देश्य सम्पादकीय लेखनमा उच्च मापदण्ड प्रवर्द्धन गर्नु, विचार आदान–प्रदानको अवसर सृजना गर्नु तथा सम्पूर्ण राष्ट्रमा प्रेस स्वतन्त्रताको प्रवर्द्धन गर्नु हो । अमेरिका, क्यानाडा, बेलायत, आयरल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, दक्षिण अफ्रिका र नेपाल लगायतका मुलुकहरूबाट आईएसडब्ल्यूएनई मा सदस्यता रहेको छ।
सम्मेलनको औपचारिक उद्घाटन एसडीएसयूका अध्यक्ष ब्यारी डन, पत्रकारिता तथा सञ्चार विभागका निर्देशक जोशुवा वेस्टविक, तथा साउथ डकोटा न्यूज मिडिया एसोसिएसन (एसडीएनए) का मोली म्याकरोबर्ट्स र डेविड बोर्डेविकले संयुक्त रूपमा गरेका थिए ।
उद्घाटन समारोहपश्चात “साउथ डाकोटाज् चेन्जिङ जर्नालिज्म ल्याण्डस्केप विषयक प्यानल छलफल आयोजना गरिएको थियो । छलफलमा अमेरिकी ग्रामीण पत्रपत्रिकाको बदलिंदो स्वरूप, स्थानीय समुदायको भूमिका, र डिजिटल युगमा साप्ताहिक पत्रिकाहरूको सन्दर्भमा चुनौती र सम्भावनाहरूबारे व्यापक बहस भएको थियो।
त्यसैगरी एसडीएसयू कलेजियन नामक विद्यार्थी–समाचारपत्रले आफ्ना पाठकसँगको सम्बन्ध विस्तार, डिजिटल माध्यममा उपस्थितिका रणनीति र युवाहरूलाई पत्रकारितामा आकर्षित गर्ने उपायबारे आफ्नो अनुभव प्रस्तुत गरेको थियो।
पत्रकार चौहानले सम्मेलनमा सहभागितालाई नेपालजस्तो मुलुकका लागि महत्वपूर्ण अवसरका रूपमा लिँदै भने, “विश्वभरका पत्रकारहरूसँग प्रत्यक्ष संवाद, अनुभव आदान–प्रदान र चुनौतीका बीच पत्रकारिता कसरी अगाडि बढिरहेको छ भन्ने बुझ्न यो सम्मेलन निकै उपयोगी छ।” उनले नेपालको ग्रामीण पत्रकारिताका सवाल र समकालीन अवस्था विश्वसामु राख्ने अवसर पाएकोमा सन्तोष व्यक्त गरे।
असार २९ सम्म चल्ने सम्मेलनमा विश्वका विभिन्न देशबाट साप्ताहिक पत्रिकामा आबद्ध सम्पादक र पत्रकारहरूको सहभागिता रहेको छ।