मनसुनजन्य विपद् न्यूनीकरणका लागि चीनसँग समन्वय बढाउन आवश्यक: प्राधिकरण
चीनसँग सूचना आदानप्रदान नहुने हो भने नेपाल जतिबेला पनि दुर्घटनाको जोखिममा रहने
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
568
Shares
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि चीनसँग समन्वय बढाउनु अपरिहार्य रहेको बताएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणले चीनसँग सूचना आदानप्रदान नहुने हो भने नेपाल जतिबेला पनि दुर्घटनाको जोखिममा रहने औंल्याएको हो।
प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विपद्बाट लड्न चीनसँग स्थायी समन्वय जारी राख्नु जरुरी रहेको बताए। उनले युएनडीआरआरको प्रपोजल बनाउने चरणमा आफूहरू रहेको उल्लेख गर्दै, पूर्वसूचना प्रणाली अहिले नेपालकोले मात्रै काम गरिरहेको र चीनसँग यसबारेमा सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताए। उनले नेपालकै पूर्वसूचना प्रणालीले मात्रै नपुगेको भन्दै अझै विस्तार गर्न जरुरी देखिएको बताए।
भट्टले भने, "चीनसँग स्थायी समन्वय जारी राखिरहनुपर्नेछ। त्यो दिशामा अघि बढ्नेछौँ। युएनडीआरआरको प्रपोजल बनाउने चरणमा पनि छौँ। चीन र हाम्रो बीचमा इन्फर्मेसन एक्सचेन्ज नहुने हो भने हामी जतिबेला पनि दुर्घटनाको सँघारमा छौँ। अर्ली वार्निङको हाम्रो आफ्नो देशको सिस्टमले काम गरिरहेको छ। अझै त्यसलाई बढाउन जरुरी छ।"
उनले विपद् कहिले आउँछ भन्न नसकिने भए पनि पूर्वसूचना जारी गरेर जनधनको क्षति कम गर्ने प्रयासमा प्राधिकरण लागिपरेको बताए।