यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान, सतर्क रहन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
664
Shares
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा केही उत्तरतिर रहेकाले देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यसैगरी, कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। सातै प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
महाशाखाले सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले ती क्षेत्रका सर्वसाधारणलाई सावधान रहन अनुरोध गरिएको छ।
ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायलाई अनुरोध गरिएको छ।