मल अभावले खाद्य सुरक्षामा सङ्कट आउन सक्छ: सांसद साउद
किसानले पर्याप्त मल नपाएको भन्दै सरकारसँग तत्काल मल उपलब्ध गराउन माग
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
2.1k
Shares
काठमाडौं। नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले धान रोपाईंको मुख्य समयमा पनि किसानले पर्याप्त मल नपाएको भन्दै सरकारसँग तत्काल मल उपलब्ध गराउन माग गरेका छन्। समयमै मल नपाउँदा धानको उत्पादकत्वमा कमी आई खाद्य सुरक्षामा नै असर पर्ने चिन्ता उनले व्यक्त गरे।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साउदले जेठ महिनामै धान रोपाईं सुरु हुने कञ्चनपुरलगायतका जिल्लामा समेत मल उपलब्ध नभएकोमा आपत्ति जनाए। उनले किसानको लगानी, श्रम र आशामाथि तुषारापात हुन नहुने बताए।
सांसद साउदले भने, "धान रोपाईं चलिरहेको बेला किसानहरूलाई समयमै मल उपलब्ध गराउन नसक्नु गम्भीर विषय भएको छ। जेठ महिनामै रोपाईं सुरु हुने कञ्चनपुरलगायतका जिल्लाहरूमा समयमा मल उपलब्ध गराउन सकिएको छैन। कृषकहरूको ठूलो लगानी, श्रम र आशामा तुषारापात भयो भने हाम्रो वर्षभरिकै खाद्य सुरक्षाको आधार र संवैधानिक प्रत्याभूतिसमेत जोखिममा पर्ने देखिन्छ।" उनले कृषिप्रधान देशले खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु आफैँमा एउटा विडम्बना भएको पनि बताए।
सांसद साउदले मल आपूर्तिको समस्या समाधानका लागि दीर्घकालीन कार्ययोजना बनाई कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।