arrow

जल तथा मौसम विज्ञान विभागको प्रारम्भिक अनुमान

रसुवा बाढीको कारण हिमताल विस्फोटको सम्भावना, विस्तृत अध्ययन जारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
image-raswa-flood.jpg

काठमाडौँ। गत मंगलबार रसुवामा आएको भीषण बाढीको मुख्य कारण हिमताल विस्फोट हुनसक्ने जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक अनुमान गरेको छ। विभागका अनुसार, बाढीको प्रकृति सामान्य वर्षाका कारण भएको नदेखिएको र यसको वास्तविक कारण पत्ता लगाउन विस्तृत अध्ययन भइरहेको छ।

 विभागका मौसमविद् विनोद पराजुलीले तिब्बत क्षेत्रमा रहेका हिमतालहरू र तिनमा देखिएको परिवर्तनलाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग समन्वय गरी भू-उपग्रह तस्वीरहरूको विश्लेषण गरिरहेको बताए। उनले बादलले छेकेका कारण तस्वीरहरू स्पष्ट नभएको र यकिन कारण पत्ता लगाउन समय लाग्ने बताए।

पराजुलीले भने, “यकिन कारण पत्ता लगाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग समेत समन्वय गरेर काम गरिरहेको छ। तिब्बत क्षेत्रका सम्भावित बाढी सिर्जना भएका स्थानका केही भू-उपग्रहका तस्बिरहरू प्राप्त भएका छन्। तस्बिरहरूमा बादलले छेकेकोले स्पष्ट देखिएको छैन। हामीले यही क्षेत्रबाट अथवा यही तालबाट विपद् वा बाढी सुरु भएको भनेर एकिन गरिसकेको अवस्था छैन तर हामी नजिक पुग्दैछौं।”

विभागले बाढी भारी वर्षाका कारण नभएको बताएको छ। हिमनदी क्षेत्रमा हिउँ पग्लिएर बनेका साना तालहरूमा परिवर्तन देखिएको र ती तालहरू नेपालबाट करिब २५ किलोमिटर टाढा तिब्बत क्षेत्रमा रहेको अनुमान गरिएको छ।

"सम्भावित पहिलो कारण हिमताल विस्फोट नै हुनसक्छ," पराजुलीले भने, "दुई–तीनवटा तस्बिरहरू जसको हामीले अध्ययन गरिरहेका छौं। त्यसमा शुप्राग्लासियर लेक भन्छौं। हिमनदीको क्षेत्रमा हिउँ पग्लिएर विभिन्न साना–साना तालहरू बनेका छन् र ती तालहरूमा केही परिवर्तन देखिएको छ, तिब्बत क्षेत्रमा। ती तालमा देखिएको परिवर्तनको भेरिफिकेसन पनि बाँकी छ।”

मौसमविद् पराजुलीले बाढीको प्रकृति असामान्य रहेको र १०–१५ घण्टासम्म एकनासले बाढी आएको जानकारी दिए। यो पहिलाको प्रकृतिभन्दा फरक देखिएको र हिमताल विस्फोट भएर मात्र हो भन्न नसकिने भएकाले यसको विस्तृत अध्ययन जरुरी रहेको उनले बताए।

भोटेकोशी र त्रिशूली क्षेत्रमा अहिले बाढीको जलस्तर सामान्य अवस्थामा फर्किएको र तत्काल थप जोखिम नदेखिएको भए पनि मनसुनभर सामान्य जोखिम कायमै रहेको विभागले बताएको छ। विभागले छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ