दाउन्नेमा पहिरोले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, फस्यो मालवाहक ट्रक
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
642
Shares
नवलपुर (नवलपरासी)। पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको दाउन्नेमा पहिरोले सडक बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। गएरातिदेखि परेको वर्षाका कारण दाउन्ने नजिकै बर्दघाट–४ खुर्सानी खोलामा आएको पहिरोले सडकको केही भाग बगाउँदा आज बिहानबाट राजमार्ग ठप्प भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तका अनुसार, पहाडमाथिबाट पहिरो खस्दा सडकको केही भागसमेत बगेको छ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु१क ५८२७ नम्बरको मालवाहक ट्रक पहिरोका कारण सडकको बीचमा फसेको उनले बताए। "पहिरोले ट्रकसमेत केही पुरिएको छ, केही सडक बगेको छ, केही सडक चर्किएको अवस्थामा छ," उनले भने, "अहिले पानी पर्न बन्द भएका कारण स्काभेटर प्रयोग गरेर पहिरोमा फसेको ट्रक निकाल्ने र पहिरो सफा गर्ने काम सुरु भएको छ।"
पन्तले सडकमा करिब ५० मिटर पहिरो खसेको बताए। पहिरो हटाउनका लागि सडक योजनाका कर्मचारी, प्रहरी तथा सुरक्षाकर्मी खटिएका छन्। चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य वर्षा हुँदा पनि यातायात अवरुद्ध हुने गरेको छ।