arrow

सिद्धार्थ राजमार्गमा पहिरो, पाल्पा-बुटवल सडक अवरुद्ध, ’उच्च सतर्कता’ अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
siddhartha-highway-landslid.jpg

तानसेन (पाल्पा) । सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड गएरातिदेखि परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ। यस सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेकाले सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यका अनुसार, बर्तुङदेखि सिद्धबाबा क्षेत्रसम्मका तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा मन्दिर नजिकै, जोडधारा र बर्तुङ आसपासमा ठूला तथा साना पहिरो खसेका छन्। पहिरो हटाउने काम भइरहेको भए पनि निरन्तर वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएको र सडक पूर्ण रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको ट्राफिक प्रमुख आचार्यले बताए। उनले भने, "पहिरोका कारण सयौं गाडी रोकिएका छन्। हामीले पहिरो पन्छाउँदै छिनछिनमा एकतर्फी गाडी पठाएका थियौँ, तर पहिरो खस्ने क्रम नरोकिएकाले सडक पूर्ण रूपमा सञ्चालन गर्ने अवस्था छैन। अहिले फेरि पहिरो खसेकाले पूर्ण रूपमा सवारी आवागमन रोकिएको छ।"

राजमार्ग बन्द भएपछि उत्तर–दक्षिण राजमार्गका सबै सवारीसाधन ठप्प भएका छन्। स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन्। यसअघि पनि राजमार्गको दोभान क्षेत्रमा पहिरो खस्दा पटक–पटक सडक अवरुद्ध भएको थियो। मंगलबार पहिरो खसेर मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए।

यस सडकखण्डका विभिन्न भागमा पहिरो र ढुङ्गा खस्ने जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। विशेष गरी सिद्धबाबा क्षेत्र र बर्तुङ आसपासका स्थानमा खसेका ढुङ्गा तथा पहिरोका कारण सडक जोखिमपूर्ण रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जल तथा मौसम विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरेकोले जोखिमयुक्त सडकमा दुर्घटनाको सम्भावना उच्च भएको बताए। यसै कारण प्रशासनले विज्ञप्ति जारी गर्दै रात्रिकालीन सवारी सञ्चालन नगर्नसमेत आग्रह गरेको छ।

प्रशासनले सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पामा पर्ने सिद्धबाबा–राम्दी सडक खण्ड, तानसेन–रिडी–तम्घास सडकको तानसेन–रिडी खण्ड, रामपुर–हुमिन–ताँहु–आर्यभञ्ज्याङ सडकखण्ड, हार्थोक–छहरा–तिनगिरे सडक खण्ड र अन्य मुख्य सहायक मार्ग तथा ग्रामीण सडकमा रातिको समयमा सवारी नचलाउन भनेको छ।

जिल्ला सुरक्षा समिति, यातायात व्यवसायी र सरोकारवालासहितको सर्वपक्षीय बैठकको निर्णयका आधारमा स्थानीय सुरक्षा निकाय (नेपाल प्रहरीको स्थानीय युनिट) बाट मौसमको पूर्वानुमान र वर्षाको अवस्था हेरेर जुनसुकै समयमा सवारीसाधन चलाउन पूर्ण रूपले निषेध गरी रोक लगाउन सकिने प्रशासनले जनाएको छ। प्रशासनले आवश्यक निगरानी र व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताउँदै सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई सूचनाको पूर्ण पालना गर्न र विपद् न्यूनीकरणमा सहकार्य गर्न आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ