पहिरोमा मोटरसाइकलमा सवार श्रीमानको मृत्यु, श्रीमती घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
611
Shares
पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डको तिनाउ गाउँपालिका-३ हेडबक्स नजिकै माथिबाट खसेको पहिरोमा परी घाइते भएका दुईमध्ये एक जनाको मृत्यु भएको छ ।
बुटवलबाट पाल्पा आउँदै गरेको लु५१प ६६३३ नम्बरको मोटरसाइकल पहिरोमा परी घाइते हुँदा चालक पाल्पाको रामपुर नगरपालिका-५ तालपोखराका ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याएपछि डाक्टरले मृत घोषणा गरेका हुन् ।
मोटरसाइकलमा पछाडि सवार उनीको श्रीमती कल्पना चापागाई भने सामान्य घाइते भएका छन् । उनको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
एक्कासि माथि भिरबाट पहिरो आएर लाग्दा चालक सडकबाट केही तल खस्न पुगेको प्रहरीले जनाएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्डमाका विभिन्न ठाउँमा ढुङ्गा खस्ने र पहिरोको जोखिम रहेकाले अहिले बर्तुङ र सिद्धाबाबा क्षेत्रबाट सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।