धादिङमा दुई शव फेला, त्रिशूलीले जलाउँदै गरेको चिता बगायो
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
547
Shares
मलेखु (धादिङ)। त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोटतर्फबाट आएको बाढीले नदीको बहाव बढेसँगै धादिङका छुट्टाछुट्टै स्थानमा दुई जना पुरुषको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार, ती शवहरू गजुरी गाउँपालिका–६ बेल्खु र गल्छी गाउँपालिका–२ केउरेनीमा फेला परेका हुन्।
बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि नदीले बगाएको छ। स्थानीय कुमार बस्नेतका अनुसार, शवदाहको बेला अकस्मात् आएको बाढीले चितासहित शव बगाएको थियो।
जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको सूचनामा यही असार २३ गते राति भारी वर्षासँगै त्रिशूली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकाले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ। सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि आग्रह गरिएको छ।