काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढी धादिङ जिल्लामा प्रवेश गरेको छ। बाढीले जनधनको क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढीले रसुवागढी नाकामा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ। चीनतर्फबाट आएको यो अविरल बाढीका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरिएको छ।
त्रिशूली नदीमा आएको बाढी हेर्नका लागि गजुरी, मलेखु, चरौँदीलगायतका स्थानमा स्थानीय बासिन्दाहरू सुरक्षित ठाउँमा बसेर बाढीको अवस्था नियालिरहेका छन्। धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बाढीबाट जिल्लामा क्षति नपुगोस् भन्दै उच्च सुरक्षा सतर्कता अपनाइएको बताए।
यसैगरी, नुवाकोटमा त्रिशूली खोलामा आएको बाढीका कारण दाउरा खोज्न गएका किस्पाङ गाउँपालिका वडा नम्बर ४ का मंगली तामाङ र पाल्तेन तामाङलाई नेपाली सेनाको हेलिकप्टरले सकुशल उद्धार गरेको छ।