arrow

नौ लाखले फेरियो मुक्तिनाथ मन्दिर परिसरको मुहार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
muktinath-new.jpg

मुस्ताङ। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा धार्मिक तीर्थस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ मन्दिर परिसरलाई दर्शनार्थीमैत्री बनाउन स्तरोन्नति गरिएको छ। सामाजिक विकास कार्यालय मुस्ताङको चालु आर्थिक वर्षको ९ लाख रुपैयाँ बजेटबाट यो काम सम्पन्न भएको हो।

सामाजिक विकास कार्यालय प्रमुख निरपति दर्जीका अनुसार, मन्दिर परिसरको साविकको संरचनालाई नखल्बल्याई छप्पनी ढुङ्गा बिछ्याउने काम सम्पन्न भएको छ। मन्दिर परिसर, कुण्ड र १०८ धारातर्फ छप्पनी ढुङ्गा बिछ्याउने जिम्मा खिङ्गा कन्स्ट्रक्सनले पाएको थियो।

कार्यालयको सीमित बजेटका कारण पूर्ण रूपमा परिसर वरिपरि छप्पनी ढुङ्गा बिछ्याउन नसकिएको प्रालिका प्रतिनिधि लाक्पाटसी गुरुङले बताए। उनका अनुसार, सामाजिक विकास कार्यालयमार्फत कुल ३ हजार १४० स्क्वायर फिट छप्पनी ढुङ्गा बिछ्याइएको छ।

छप्पनी ढुङ्गा बिछ्याएर स्तरोन्नति गरिएपछि मुक्तिनाथ आउने दर्शनार्थीलाई हिँडडुल गर्न सहज भएको मन्दिर विकास समितिका कर्मचारी रविन सुवेदीले बताए। "मुक्तिनाथ मन्दिर अगाडि र पछाडिको १०८ धारातर्फको परिसर असहज थियो, पुराना ढुङ्गा उप्किएका थिए," उनले भने, "अहिले परिसरको एउटै लेबल मिलाएर नयाँ छप्पनी ढुङ्गा बिछ्याएको छ।"

समितिले दर्शनार्थीको सुविधाका लागि २०० लिटर क्षमताको शुद्ध तातोपानी पिउन मिल्ने इलेक्ट्रिकल डिस्पेन्सको व्यवस्था पनि गरेको छ। समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको पहलमा यो व्यवस्था गरिएको हो, जसले मुक्तिनाथको उच्च स्थानमा दर्शन गर्न आउने भक्तजनलाई लेक लाग्ने सम्भावना न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

सुवेदीका अनुसार, १०८ धारामा स्नान गर्ने दर्शनार्थीलाई दुर्घटनाको जोखिमबाट सुरक्षित राख्न रेलिङ निर्माण गरिएको छ। मुक्तिनाथ मन्दिर दर्शनका लागि बर्सेनि ७ लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन्, र मन्दिर परिसरमा तातोपानी पिउन व्यवस्था भएसँगै भक्तजनलाई थप सहज भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ