arrow

गाजामा युद्धविरामका लागि दोहामा इजरायल–हमास वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
Benjamin-netanyahu.jpg

काठमाडौँ। इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अप्रत्यक्ष वार्ता आइतबार कतारको राजधानी दोहामा पुनः सुरु भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको अमेरिका प्रस्थानअघि यो वार्ता प्रारम्भ भएको हो, जहाँ उनी सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि वासिङ्टन जाने तयारीमा छन्।

नेतान्याहूले दोहामा वार्ता टोली पठाउने जानकारी दिएका छन्। कतार यस द्वन्द्वमा एक प्रमुख मध्यस्थ राष्ट्रका रूपमा सक्रिय रहँदै आएको छ। यद्यपि, नेतान्याहूले हमासले अमेरिकी समर्थनमा तयार गरिएको युद्धविराम प्रस्तावमा दिएको प्रतिक्रियामा ‘स्वीकार्य नहुने माग’ हरू समावेश भएको टिप्पणी गरेका छन्।

एक प्यालेस्टिनी अधिकारीका अनुसार दोहामा सुरु हुने वार्ताले सम्भावित युद्धविरामका शर्त, बन्धक तथा बन्दीहरूको आदानप्रदान र गाजाको राफा नाका पुनः खोल्ने विषयमा केन्द्रित रहनेछ। हमासका तर्फबाट वरिष्ठ वार्ताकार खालिल अल–हय्याको नेतृत्वमा वार्ता टोली दोहामा पुगिसकेको छ भने इजरायली टोली आइतबार दिउँसो प्रस्थान गरेको जनाइएको छ। नेतान्याहूले यसअघि इजरायली राष्ट्रपति इसहाक हेर्जोगसँग गाजाको अवस्था र क्षेत्रीय कूटनीतिक सम्बन्धबारे छलफल गरेका थिए।

प्रस्तावित योजनाअनुसार ६० दिनको युद्धविराम अवधिमा हमासले १० जना जीवित बन्धक र केही शवहरू फिर्ता गर्नेछ, सट्टामा इजरायलले केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ। हमासले इजरायली फौजको आंशिक फिर्ता, युद्धविराम अवधिमा पुनः सङ्घर्ष नदोहरिने ग्यारेन्टी र संयुक्त राष्ट्रसङ्घको खाद्यान्न वितरण प्रणाली पुनः लागू गर्ने माग पनि अघि सारेको बताइएको छ।

यसैबीच, गाजामा मानवीय अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। स्थानीय नागरिकहरू अत्यधिक खाद्यान्न अभावमा जीवन यापन गर्न बाध्य छन्। दक्षिण गाजाको खन युनिसबाट करिमा अल–रासले “हामी युद्धविरामको घोषणा होस् भन्ने आशामा छौं, मानिसहरू पीठोको लागि मर्नुपरेको छ,” भन्दै दुःख व्यक्त गरेकी छिन्।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले हालसम्म खाद्यान्न वितरणका क्रममा ५०० भन्दा बढी नागरिकहरूको मृत्यु भएको जानकारी दिएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार गाजामा हालसम्म ५७ हजार ४०० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्, जबकि इजरायली पक्षमा अक्टोबर ७, २०२३ को हमलामा एक हजार २१९ नागरिकको मृत्यु भएको थियो।

दोहामा सुरु भएको वार्ताबाट दिगो युद्धविरामतर्फ प्रगति हुने आशा गरिएको छ, यद्यपि दुवै पक्षबीचका गम्भीर मतभेद अझै कायम रहेको बताइएको छ। यस वार्ताले दीर्घकालीन समाधानको मार्ग खोल्न सक्ने विश्लेषकहरूले अपेक्षा गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ