एमालेले स्थानीय तहमा ’गठबन्धनको शिष्टाचार’ पालना नगरेको निधीको आरोप [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २१ शनिबार
762
Shares
जनकपुर। नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन्।
शनिबार जनकपुरमा पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको भेटका क्रममा निधीले नेपाली कांग्रेस सहमति र सामूहिक अभियानका लागि सधैँ तयार रहेको बताए। तर, एमाले भने सहमति र सामूहिक अभियानमा जोडिन नखोजेको उनको भनाइ थियो। निधीका अनुसार, एमालेले कतिपय नगरपालिकाहरूमा मेयरको अधिकार कटौती गर्नेगरी कार्यविधि बनाउन दबाब दिँदै बजेट ल्याउन र बैठक बस्न अवरोध सिर्जना गरिरहेको छ।
"नेपाली कांग्रेस सहमति र सामूहिक अभियानका लागि सधैँ तयार छ। एमाले आउँदैन त के गर्ने? समस्या त यही भइरहेको छ," सांसद निधीले भने, "नारायण नगरपालिकामा एमालेले बजेट पारित गर्न दिएको छैन, बैठक बस्न दिइरहेको छैन। मेयरको अधिकार कटौती गर्नेगरी कार्यविधि बनाउनुस् रे। प्रधानमन्त्रीको अधिकार कटौती हुनेगरी क्याबिनेटको नियम बनाउँदा मान्छ। सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना भइरहेको छैन। सामूहिक सरोकारको विषयमा अवरोध भइरहेको छ।"
सांसद निधीले राजनीतिक प्रतिशोधका कारण नेताहरू एउटाले ल्याएका योजनाहरू ल्याउन नदिने वा अवरोध गर्ने काममा लागेको आरोपसमेत लगाएका छन्।