सांसद आचार्यको जोड: कानुनहरू 'फास्ट ट्र्याक' मा ल्याउनुपर्छ
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
1.8k
Shares
काठमाडौँ। नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले कानुनहरूलाई 'फास्ट ट्र्याक' (द्रुत मार्ग) बाटै बनाउनुपर्ने धारणा राखेका छन्। शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले संसदमा विधेयक ल्याउने प्रतिबद्धता गरिएका सबै विधेयकहरू चालु अधिवेशनबाटै पारित गर्नुपर्नेमा जोड दिए।
सांसद आचार्यले चालु अधिवेशनबाट पारित हुन नसकेका तर महत्त्वपूर्ण रहेका विधेयकहरूलाई अध्यादेशमार्फत भए पनि ल्याएर काम अघि बढाउनुपर्ने माग गरे। "वर्षौँसम्म कानुनविहीन ढंगले मुलुकलाई बन्धक बनाउन सकिँदैन, मिल्दैन," उनले भने।
उनले थपे, "कानुनहरू सबै फास्ट ट्र्याकमै बनाऔँ भन्ने मान्छे हो। संसदमा बोल्दा पनि मैले भनेको छु, जति पनि विधेयक ल्याउँछौँ भनेका छौँ, त्यो नीति कार्यक्रम, बजेट, अन्यत्र त्यो यही अधिवेशनमा पास गरौँ भन्ने हो। केही गरी यही अधिवेशनमा पास हुन नसके र महत्त्वपूर्ण छ भने अध्यादेशबाट ल्याएर पनि काम अघि बढाउनुपर्छ।"
यद्यपि, उनले कानुन पूर्ण रूपमा राम्रो बनाउनुपर्नेमा पनि जोड दिए। छिटो गर्ने नाममा छलफल नै नगरी विधेयकहरू लैजान नमिल्ने उनको भनाइ थियो।