कान्ति ताल: स्थानीय र आगन्तुक चराको महत्त्वपूर्ण गन्तव्य, संरक्षणमा जोड
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
400
Shares
नेपालगञ्ज (बाँके)। कुनै समय नेपालगञ्ज सहरको बीचमा रहेको मानवनिर्मित कान्ति ताल स्थानीयका लागि सिँचाइको स्रोत थियो। अहिले यो सुन्दर ताल स्थानीय चराहरूको बासस्थान र प्रजननको थलोका साथै विभिन्न विदेशी चराका लागि महत्त्वपूर्ण गन्तव्य बनेको छ। कमललगायतका फूलले भरिएको यो ताल विभिन्न चराका लागि आहार र विहारको लामो समयदेखिको आश्रयस्थल हो।
जानकारहरूका अनुसार, कान्ति ताल जैविक विविधताका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण छ र चरा अध्ययनका लागि पनि प्रसिद्ध छ। विज्ञहरू यस ताललाई 'बर्ड पार्क' (चरा पार्क) र 'बर्ड वाचिङ' (चरा अवलोकन) को केन्द्रका रूपमा विकास गर्न सकिने बताउँछन्। तर, केही समयअघि यसै तालमा मोटरबोट चलाउने प्रयास भएपछि स्थानीय र अधिकारकर्मीलगायतको व्यापक विरोध भयो। विरोधपछि डुङ्गा चलाउने योजना अलपत्र पर्यो र अहिले तालको एक छेउमा एउटा काठको डुङ्गा मात्र अलपत्र अवस्थामा छ।
जैविक विविधता र पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्दै पर्यावरण जोगाउनमा कान्ति तालको भूमिका महत्त्वपूर्ण रहेको जानकारहरू बताउँछन्। विशेषगरी सारसका लागि यो क्षेत्र अत्यन्त महत्त्वपूर्ण छ, जसको बासस्थान बाँकेस्थित राप्ती नदीको तटीय क्षेत्र, कान्ति ताल र मानखोल हो। त्यसमध्ये पनि कान्ति ताल सारसका लागि सबैभन्दा राम्रो बासस्थान भएको विज्ञको भनाइ छ।
नेपालगञ्ज उपमहानगरको वडा नं २२ र २३ मा २५ बिघामा फैलिएको कान्ति ताल परम्परागत चराका लागि मात्र नभई विभिन्न देशबाट बर्सेनि आउने विदेशी चराको पनि महत्त्वपूर्ण बासमा पर्छ। तालमा वर्षभरि नै दुर्लभ चराचुरुङ्गी बसोबास गर्नुका साथै जाडो तथा गर्मी छल्न विभिन्न देशबाट बर्सेनि चराहरू आउने गरेका छन्। फ्रेन्डस् फर वाइल्डलाइफ कन्जरभेसनका अध्यक्ष आशिष चौधरीका अनुसार नेपालगञ्ज आसपासमा यहाँजस्तो सिमसार अन्य ठाउँमा छैन। "यहाँ प्रकृतिप्रेमीका लागि मात्र नभई जनावर र चराका लागि पनि उपयुक्त वातावरण छ, लामो समयदेखि यसलाई जोगाउन सकेकै कारण विभिन्न देशबाट यहाँ बर्सेनि चरा आइरहेका छन्," उनले बताए।
दुर्लभ चराको बासस्थान रहेको कान्ति ताल क्षेत्रमा पर्यटकीय गतिविधि बढाउनका लागि मोटरबोट सञ्चालनको प्रक्रिया सुरु भएपछि संरक्षणविद्हरूले चासो व्यक्त गर्दै उपमहानगरमै उक्त कार्य रोक्नका लागि निवेदन दिएका थिए। उनीहरूले तालमा मोटरबोट सञ्चालन गर्नुको सट्टा चरा पार्क निर्माण गरी आम्दानी गर्न सकिने सुझाव पनि दिएपछि अहिले त्यसतर्फ चासो बढाइएको छ।
संरक्षणविद्हरूको भनाइ छ कि मोटरबोट सञ्चालन भएमा पर्यावरणमा क्षति पुग्नुका साथै चराचुरुङ्गी यहाँबाट लोप हुने भएकाले उनीहरूको संरक्षणका लागि भए पनि मोटरबोट सञ्चालन गर्न हुँदैन। "तालमा मोटरबोट सञ्चालनका लागि लामो प्रयास भयो, तर बोट चढ्ने मानिस पनि भएनन्, त्यसपछि प्रयास भएको छैन, यो ताललाई अहिले प्राकृतिक रूपमै संरक्षण गर्नुपर्ने आवाज उठिरहेको छ," चौधरीले भने। चौधरीका अनुसार तालमा काठको डुङ्गा चलाउन समस्या नभए पनि मोटरबोट चलाउँदा त्यहाँको पारिस्थितिक प्रणालीमा नै असर पुग्नेछ।
"पोखराको फेवातालमा पनि मोटरबोट चलाइएको छैन, काठको डुङ्गा नै चलाइएको छ भने नेपालगञ्जको सानो तालमा मोटरबोट नै चलाउन जरुरी छैन," उनले थपे, "मोटरबोट चलाउँदा जीवाश्म इन्धनका कारण जीव र पन्छीमा समस्या हुन्छ।"
चौधरीका अनुसार पछिल्लो समय सिमसारलगायतका क्षेत्र अतिक्रमणमा पर्दा धेरै प्रजातिका चराहरू सङ्कटमा पर्दै गएका छन्। नेपाल सरकारले संरक्षित सूचीमा राखेका नौ वटा चरा प्रजातिमध्ये छवटा तराईमा पाइन्छन्, जसमध्ये बर्दियामा दुईवटा र बाँकेमा पाँचवटा प्रजातिका चरा भेटिन्छन्। "कान्ति ताल पनि मासिने हो भने ती प्रजातिका चराको अस्तित्व नै सङ्कटमा पर्ने खतरा छ," उनले चेतावनी दिए।
पन्छी संरक्षण समाज र नेपाल चराविज्ञ सङ्घले केही समयअघि गरेको डेढ घण्टा अवलोकनका क्रममा कान्ति तालमा ३२ प्रकारका परम्परागत चरा र केही आगन्तुक चरा भेटिएका थिए। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विस्टले ताललाई सिमसार क्षेत्रका रूपमा लिइएको बताए। "धेरैले यसलाई सिमसार भन्छन्, सिमसारजस्तो नदेखिए पनि स्थानीय र विदेशबाट आउने चराका लागि यो महत्त्वपूर्ण बासस्थान हो," उनले भने।
प्रमुख विष्टका अनुसार कान्ति तालमा लामो समयदेखि माछापालन हुने गरेको थियो। "लामो समयदेखि कान्ति तालमा माछापालन हुने गरेको थियो, यसलाई पर्यटकीय गन्तव्य बनाउन अघिल्लो सरकारले काम गरेको हो, यद्यपि यो प्रक्रिया अहिले अगाडि बढेको छैन," उनले उल्लेख गरे।
कान्ति तालमा जाडोमा १५३ र गर्मीयाममा ६२ प्रजातिका चरा देख्न पाइन्छ। तालमा अफ्रिकाबाट जुरे कोइलीदेखि इन्डोनेसिया, उत्तरी चीन, थाइल्यान्ड, साइबेरिया, मलेसियालगायतका देशबाट पनि चरा आउने गरेका छन्। सरकारले संरक्षित सूचीमा राखेका सारसका तीन प्रजाति पनि यही तालमा पाइने चौधरीले बताए।
तालको जैविक विविधता जोगाएर भावी पुस्ताका लागि चरालाई जोगाएर राख्नु स्थानीय तहको जिम्मेवारी भएको विज्ञहरू बताउँछन्। प्राकृतिक सिमसार भएको जैविक विविधिता जोगाएर राख्नुपर्नेमा मास्ने काम हुन लागेपछि आफूलाई चिन्ता लागेको संरक्षणकर्मी चौधरीको भनाइ छ। उनले मोटरबोटको विकल्पमा बायोडाइभर्सिटी पार्क, बोटानिकल गार्डेन वा चरा पार्कका रूपमा ताललाई विकास गरी टिकटमार्फत आम्दानी गर्ने बाटो पनि रहेको बताए।
"तालको संरक्षण चराका लागि मात्र होइन, हाम्रै लागि र भावी पुस्ताका लागि पनि आवश्यक छ," चौधरीले भने, "नेपालगञ्ज मानसरोवर जाने भारतीय यात्रुका लागि ट्राञ्जिट प्वाइन्ट पनि हो, उनीहरूलाई लक्षित गरी ताललाई यही रूपमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ, यसतर्फ ध्यान नदिई मोटरबोट मात्र विकल्प देख्न हुँदैन।"
कान्ति तालमा हरेक वर्ष चराको गणना हुन्छ। दुई वर्षअघि २५ प्रजातिका चरा रहेकामा गत वर्षको गणनामा २२ प्रजातिका चरा भेटिएका थिए। यस वर्ष भने चराको सङ्ख्या ३२ पुगेको छ। यस वर्ष राप्ती नदीको कुसुमबाट अगैया क्षेत्र र विभिन्न ताल एवं नदीमा जलचर चराको गणना तथा सर्वेक्षण गर्दा ३२ प्रजातिका थप चरा भेटिएको र यो गत वर्षको तुलनामा बढी भएको थियो। तालमा सारस, फिसिङ क्याट, मलाहलगायतका चराको बासस्थान छ। यहाँ गर्मीयाममा युरोप, मध्यपूर्वी एसिया र इन्डोनेसियाबाट चरा आउँछन् भने जाडोमा साइबेरिया, उत्तरी चीनबाट चरा आउँछन्। आगन्तुक चराले पनि तालमै बच्चा जन्माउँछन्। स्थानीयहरू ताल संरक्षणका लागि दिगो विकासको अवधारणामा काम गर्नुपर्ने बताउँछन्। यस ताललाई चरा अवलोकनको केन्द्र तथा जैविक विविधता सिकाइ केन्द्रका रूपमा विकास गर्न सकिने जानकारहरू बताउँछन्।