महिला संघको विरोध कायमै, निर्देशन समिति र गगन-शेखर समूहको बैठक निष्कर्षविहीन
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
3.8k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको पार्टी मुख्यालय बीपीनगर सानेपामा सोमबारदेखि केन्द्रीय कार्यसमिति बैठक चलिरहँदा मुख्यालय बाहिर भगिनी संस्था नेपाल महिला संघको आन्दोलन बिहीबार पनि जारी रह्यो ।
गत असार १६ गते सोमबारदेखि अध्यक्षको मनोमानी रोकी कार्बाही गर्न माग गर्दै असन्तुष्ट पक्षले विरोध गर्दै आइरहेको छ । यसअघि जिल्लाका सभापतिहरुलाई बिना कारण बर्खास्त गरिएको तथा एकलौटी ढङ्गले क्रियाशील सदस्यता वितरण एवं नवीकरण गरिएको लगायतका विषयलाई असहमति जनाउँदै २० केन्द्रीय सदस्यहरुले राजीनामा दिएका थिए ।
उनीहरुले पटक पटक यस विषयमा पार्टी नेतृत्वदेखि पदाधिकारीसम्मलाई जानकारी गराए पनि वास्ता गरिएन । पार्टीको संस्थापन पक्षले नेतृत्वलाई विधि र विधान मिचेर छुट दिएको आरोप छ । जसका कारण समयमै महाधिवेशन नगरेर पनि उनीहरु पदमा आसीन हुन पाएका छन् ।
यसैको विरोधमा महिला संघका गगन शेखर पक्षधर महिला संघका नेतृहरु पार्टी कार्यालय अगाडि बसेर धर्ना जुलुस गरेर प्रदर्शन गरिरहेका छन् । सोमबारदेखि दैनिक उनीहरुले कालोपट्टी बाँधेर विरोध गरिरहेका हुन् ।
बिहीबार उनीहरू पार्टी कार्यालयभित्र गएरै आफ्ना कुराहरू राख्ने भने पनि सुरक्षाकर्मीले भने उनीहरूलाई भित्र प्रवेश गर्न दिएन ।
उनीहरुले महिला संघ केन्द्रीय अध्यक्षले संगठनलाई विधिवत् ढंगले अगाडि नबढाएको, एकलौटी रुपले कब्जा गर्न खोजेको, अर्को पक्षलाई बेवास्ता गरेको र सो कार्यको पटक पटक नेतृत्वलाई जानकारी गराउँदा पनि नेतृत्वको ध्यानाकर्षण नभएपछि बाध्य भएर केन्द्रीय कार्यालय अगाडि विरोधको कार्यक्रम गर्नु परेको बताएका छन् ।
यो विरोधको श्रृंखला शुक्रबार पनि जारी रहने नेतृ रंजिता गिरीले जानकारी दिइन् । उनले बिहीबार बिहान नेपाल महिला संघको निर्देशन समिति र गगन शेखर समूहका नेतृहरुको संयुक्त बैठक महाराजगञ्जमा बसे पनि निष्कर्षमा नपुगेपछि पुनः आन्दोलनमा होमिनु परेको बताइन् ।
निर्देशन समितिले एकपक्षीय ढंगले आफ्ना सर्तहरु राखेपछि आफूहरूले त्यसको विरोध गर्नु परेको उनले बताइन् ।
निर्देशन समिति संयोजक डा प्रकाशशरण महत हुन् । सदस्यहरूमा पुष्पा भुषाल र रुकमिणी कोइराला छन् ।