arrow

 सिमकोट राष्ट्रिय सडक सञ्जालमा औपचारिक रूपमा जोडिँदै, प्रधानमन्त्रीले बेलिब्रिज उद्घाटन गर्ने 

logo
जनकबहादुर शाही,
प्रकाशित २०८२ असार १९ बिहिबार
simkot-belibridge-2082-2-21.jpg

हुम्ला । दशकौँदेखि सडक पहुँचविहीन रहँदै आएको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट अन्ततः राष्ट्रिय सडक सञ्जालमा औपचारिक रूपमा जोडिन लागेको छ । 

खार्पुनाथ गाउँपालिका–५ स्थित खार्पु भएर बग्ने चुवाखोला कर्णाली नदीमा निर्माण गरिएको बेलीब्रिजको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली असार २२ गते हुम्ला आउने कार्यक्रम तय भएको छ । 

नेपाली सेनाले निर्माण गरेको उक्त पुलसँगै कर्णाली करिडोर पूर्ण रूपमा सञ्चालनमा आउनेछ । झण्डै  साडे छ करोड रुपैयाँको लागतमा नेपाली सेनाले ४० दिनभित्र सम्पन्न गरेको उक्त बेलीब्रिजले हुम्लालीको २७ वर्षदेखिको सडक सपना साकार बन्ने भएको छ। उद्घाटन समारोहका लागि  खार्पुनाथ गाउँपालिका‚ स्थानीय प्रशासन, नेपाली सेना र सरोकारवाला निकायबीच व्यापक तयारी थालिएको छ । सुरक्षा संयन्त्रलाई समेत उच्च सतर्कतामा राखिएको  प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए  ।

इतिहासले बोकेको पीडा, पुलले खोलेको सम्भावना
२०५४ सालमा हुम्लामा फैलिएको भोकमरी र भाइरल इन्फ्लुएन्जाबाट करिब ५० जनाको ज्यान गएको घटनापछि यस जिल्लामा खाद्य सुरक्षा र यातायातको स्थायी समाधान खोज्ने प्रयास थालिएको थियो । 

विभिन्न संघ संस्था स्थानिय सडक निर्माण समिति, तत्कालीन जि.वि.स, गा.वि.स, सडक आयोजना स्थानिय तह र नेपाली सेना सबैको तदारुक्ताका साथ निर्माण कार्यमा लाग्दा पनि जिल्लालाई राष्ट्रिय सडक संजालसंग  जोड्न २७  वर्ष लाग्यो ।  

२०५५ सालमा हुम्लालाई राष्ट्रिय सडक संजालसंग जोड्ने  कुरा कल्पना पनि गर्न सकिदैन थियो ।  तर त्यस कुरालाई मध्येनजर गरी जिल्लालाई चिनको स्वशासित क्षेत्र तिब्बतसँग नाका जोडी बामे सर्न पनि नजानेको हुम्लाको विकासलाई बामे सर्न सिकाउने ध्येयका साथ हिल्साबाट २७ बर्ष अगाडी तत्कालिन जिल्ला विकास समितिका सभापती जीवन बहादुर शाहीको पहलमा हिल्सादेखि सिमकोटसम्म ९५ किलोमिटर  मोटर बाटो, कवाडि सरिसल्ला घोरेटो बाटोको सुरुआत गरिएको थियो । 

दक्षिणबाट सदरमुकाम सिमकोट जोड्न सम्भव नभएपछि  २०५७ सालमा जिविसको आफ्नै स्रोतबाट सिमकोट–हिल्सा सडक र कवबडी सल्ली सल्ला घोरेटो बाटोको काम थालिए पनि कठिन भूगोल, श्रोत अभाव र प्राविधिक कठिनाइका कारण काम सुस्त गतिमा अगाडि बढेको थियो । त्यसपछि विश्व खाद्य कार्यक्रमको कामका लागि खाद्यन्न कार्यक्रमअन्तर्गत स्थानीय श्रम प्रयोग गरी सडक विस्तारलाई निरन्तरता दिइएको हो ।

०५८ सालदेखि ०६५ सालसम्म मात्रै जिविसले झण्डै ६ करोड ८० लाख रुपैयाँ खर्च गरेको थियो । दुर्गम क्षेत्र विकास कार्यक्रमले थप ७ लाख रुपैयाँ खर्चेर सहयोग गरेको थियो । पछि स्काभेटर खरिद गरेर मात्र निर्माण कार्यमा तीव्रता आएको थियो ।

अब एउटै सवारीमा भारतदेखि चीनसम्मको यात्रा सम्भव
पुल निर्माणपछि भारतीय सीमाको रुपैडिहाबाट चीनको सीमास्थित हिल्सासम्म एउटै गाडीमा सिधा यात्रा गर्न सकिने अवस्था निर्माण भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । उनका अनुसार, यसअघि यात्रुहरूलाई तीन चरणमा सवारी परिवर्तन गर्नुपर्थ्यो, जसका कारण यात्राको खर्च मात्र हैन, समय र सास्ती दुवै बढेको थियो ।

अब करिब ५०५ किलोमिटर दूरीको कर्णाली करिडोरमार्ग सिधा सञ्चालनमा आउनेछ, जसले नेपालगंज देखि कालीकोटको खुलालु, बाजुरा, खार्पु हुँदै सिमकोट र हिल्सासम्मको सीधा कनेक्टिभिटी जोडिसकेपछि हुम्ला जिल्ला संगै सिंगो कर्णली प्रदेशको विकासमा टेवा पुग्ने भएकाले छ । 

यो सडकको सिधै कनेक्सन (हिल्सा –जमुनाह सडक) उत्तर दक्षिण रोड मार्फत भाराीय सिमाबर्ती शहर रुपैडियासंग हुन्छ  र यो सडक बन्यो भने एकैसाथ चिन र भारत संग सम्बन्ध स्थापित भई दोहोरो फाईदा हुन्छ भन्छिन् महिला अगुवा बसन्ती शाही । 

स्थानीयमा उत्साह र सम्भावनाको आशा
स्थानीय बासिन्दा, व्यापारी तथा नागरिक समाजले प्रधानमन्त्रीको आगमन र पुल उद्घाटनलाई ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन् । व्यापारीहरू भन्छन् – अब भारत वा नेपालभित्रका बजारबाट ढुवानी गर्न सजिलो हुनेछ, खाद्यान्न लागत घट्नेछ, रोगी बोकेर जानुपर्ने समयमा सुधार आउनेछ, र सर्वसाधारणको जीवनयापन सहज हुनेछ ।

साथै, सिमकोट विमानस्थलमा उडान भरिएको जहाज नपाएपछि बाटो नै विकल्प हुने विकल्प खुलेको छ । यद्यपि, वर्षा र हिउँदमा सडक सञ्चालनमा चुनौतीहरू रहने स्थानीय बताउँछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ