मलेसियामाथि नेपाली बलर हावी, नेपाललाई फाइनल पुग्न ९१ रनको झिनो चुनौती
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
777
Shares
काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा हावी देखिएको छ । अहिले सेमिफाइनल भइरहेको छ ।
नेपालले आयोजक मलेसियामाथि पकड जमाएको छ । जितका लागि नेपालले मात्र ९१ रनको चुनौती पछ्याउँदैछ ।
खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै मलेसियालाई सस्तैमा समेट्यो । मलेसियाले ४३.१ ओभरमा अलआउट हुँदै ९० रनमात्र बनायो ।
मलेसियाका लागि मोहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । नेपालका लागि अभय यादवले १५ रन खर्चेर ४ तथा शुबम खनालले १२ रन खर्चेर ३ विकेट लिए ।
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने मलेसिया अर्को समूहको उपविजेता हो ।
नेपालको समूह चरण
यसअघि नेपालले समूह चरणमा शानदार प्रदर्शन गर्ने क्रममा भुटानमाथि २९८ रनको जितसहित हासिल गरेको थियो । ३५९ रनको चुनौती पछ्याएको भुटान ६० रनमा अलआउट भयो । नेपालका लागि विपिनप्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन खर्चेर ४ विकेद्ध लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ३५८ रन बनायो । रौनक श्रीवास्तवले १३२ बलको सामना गर्दै १६८ रन बनाए । उमेर समूहमा यो नै कुनै पनि नेपाली ब्याट्सम्यानको उच्च योगफल हो ।
समूह चरणमा नेपालले इन्डोनेसिया, सिंगापुर र जापानलाई हराएको थियो ।
अर्को सेमिफाइनलमा हङकङ र सिंगापुर भिडेका छन् । फाइनल खेल आगामी शनिबार हुनेछ ।