तोकारा टापुमा नौ सयभन्दा बढी भूकम्पका झड्का, बासिन्दा त्रसित
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
1.3k
Shares
काठमाडौँ। जापानको दक्षिणी भागमा रहेको तोकारा टापु शृङ्खलामा पछिल्लो दुई सातामा ९०० भन्दा बढी भूकम्पीय झड्का महसुस गरिएको छ, जसले त्यहाँका बासिन्दाको निद्रा हराम गरेको छ। भूकम्पका कारण कुनै ठूलो क्षति भएको खबर नभए पनि लगातारको कम्पनले टापुवासीमा त्रास बढाएको छ।
जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले क्युशु क्षेत्रको दक्षिणमा रहेको तोकारा टापु शृङ्खलामा अपराह्न ३:३० बजे ५.५ म्याग्निच्यूडको भूकम्प गएपछि आपतकालीन पत्रकार सम्मेलन गरेको थियो। भूकम्प तथा सुनामी अवलोकन विभागका निर्देशक आयताका एबिताले जुन २१ देखि टोकारा टापु शृङ्खला वरपरका समुद्रमा भूकम्पीय गतिविधि निकै सक्रिय रहेको बताउनुभयो। "आज अपरान्ह ४ बजेसम्ममा यो सङ्ख्या ९०० नाघेको छ," उहाँले भन्नुभयो, "यसको अन्त्य कहिले हुन्छ अनुमान गर्न कठिन भएको छ।"
तोकारा गाउँ प्रशासनले आफ्नो वेबसाइटमा लगातारको भूकम्पीय गतिविधिले त्यहाँका बासिन्दाहरूमा ठूलो भूकम्पको त्रास बढेको र उनीहरू केही दिनदेखि राम्ररी सुत्नसमेत नसकेको उल्लेख गरेको छ। एक स्थानीयले क्षेत्रीय प्रसारक एमबीसीसँग भने, "यो टापु निरन्तर हल्लिएको जस्तो महसुस भइरहेको छ। निदाउन पनि धेरै डरलाग्दो अवस्था छ।" अर्का एक बासिन्दाले भने, "यो सबै कहिले अन्त्य हुन्छ भन्ने स्पष्ट छैन। मैले आफ्ना बच्चाहरूलाई अन्यत्र सार्ने वा घर खाली गर्ने कि नगर्ने भनेर सोच्नुपर्ने भएको छ।"
जेएमएका अनुसार यसअघि, सेप्टेम्बर २०२३ मा तोकारा क्षेत्रमा तीव्र भूकम्पीय गतिविधि देखिएको र ३४६ वटा भूकम्प रेकर्ड गरिएको थियो।
दूरदराजका १२ वटा तोकारा टापुमध्ये सातवटामा करिब ७०० जना बसोबास गर्छन्। प्रशान्त महासागरको 'रिङ अफ फायर' को पश्चिमी किनारामा चारवटा प्रमुख टेक्टोनिक प्लेटको टुप्पोमा रहेको जापान भूकम्पीय दृष्टिले विश्वको सबैभन्दा बढी जोखिमयुक्त देशमध्ये एक हो। करिब १२ करोड ५० लाख मानिसको बसोबास रहेको यस द्वीपसमूहमा हरेक वर्ष करिब १ हजार ५०० भूकम्पीय झट्काहरू आउने गर्छन् र विश्वका १८ प्रतिशत भूकम्पहरू जापानमै जाने गरेका छन्। तिनीहरूले निम्त्याउने क्षति तिनीहरूको स्थान र तिनीहरूले प्रहार गर्ने गहिराइअनुसार फरक-फरक हुन्छन्। सन् २०२४ को नयाँ वर्षको दिन मध्य जापानको नोटो प्रायद्वीपमा गएको शक्तिशाली भूकम्पमा परी करिब ६०० जनाको मृत्यु भएको थियो।