मनसुन सक्रिय: आगामी २४ घण्टा देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
757
Shares
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आगामी २४ घण्टामा देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना छ।
यसका साथै, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा को पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ।
विशेषगरी, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा को समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना यथावत रहनेछ।
मनसुन सक्रिय रहेकाले नदीमा पानीको बहाव बढ्ने, भू-क्षय, पहिरो र डुबान जस्ता विपद्का घटनाहरू हुन सक्ने सम्भावना रहेको छ। यसबाट जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा पर्न सक्ने असर र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।