एसियन कपमा नेपालले सजिलो प्रतिद्वन्द्वी श्रीलंकालाई ८-० ले हरायो, साम्बाको लगातार ह्याट्रिक
हाम्रा कुरा
प्रकाशित २०८२ असार १८ बुधबार
1k
Shares
काठमाडौँ । उज्वेकिस्तानमा जारी एसियन कप छनोट महिला फुटबलमा नेपालले सजिलो प्रतिद्वन्द्वी श्रीलंकालाई पराजित गरेको छ । बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ८-० ले हराएको हो ।
नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन् । उनले खेलको २० औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन् । उनी आफ्नै कप्तानीको दुई लगातार खेलमा दुई ह्याट्रिक गर्ने खेलाडीमासमेत नाम लेखाउन सफल भएकी छिन् । उनले लाओस विरुद्ध चार गोल गरेकी थिइन् ।
अन्य गोल गर्ने खेलाडीमा गीता रानाले दुई तथा पूजा राना, निशा थोकर र रेखा पौडेलले एक-एक गोल गरे । नेपालले मध्यान्तरअघि र मध्यान्तरपछि समान चार गोल गरेको हो ।
नेपालले अहिलेसम्म श्रीलंकाविरुद्ध खेलेका सबै ११ खेल जितेको छ ।
यसअघि नेपालले आफ्नो एक सयौँ खेलमा लाओसलाई ९-० ले हराएको थियो ।
अब नेपालले अन्तिम खेलमा आयोजक उज्वेकिस्तानसँग खेल्नेछ । नेपालले यो खेल जित्दामात्रै सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलमा छनोट हुनेछ ।