देशभर मनसुनी प्रभाव जारी: केही प्रदेशमा भारी वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
746
Shares
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले गर्दा आज (मंगलबार) दिनभरि र राति पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार, आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विशेषगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा अन्य भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि यथावत् छ।