राष्ट्रिय खेलकुद सम्मान–२०८१ बाट दिपा शाही सम्मानित
हाम्रा कुरा
प्रकाशित २०८२ असार १६ सोमबार
1.4k
Shares
काठमाडौँ । नेपाली महिला फुटबलको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकी राष्ट्रिय फुटबल खेलाडी दिपा शाहीलाई राष्ट्रिय खेलकुद सम्मान–२०८१ बाट एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित सम्मान कार्यक्रममा खेल क्षेत्रमा सक्रिय र प्रेरणादायी योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान गर्ने क्रममा शाहीलाई राष्ट्रिय महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै सो सम्मान प्रदान गरिएको हो ।
हाल एसियन महिला फुटबल प्रतियोगिताको छनोट चरणका लागि उज्वेकिस्तानमा रहेकी शाहीको अनुपस्थितिमा सम्मान पत्र र नगद पुरस्कार उनकी आमा देवी शाहीले ग्रहण गरिन् ।
पुरस्कार वितरण समारोहमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सम्मान प्रदान गरेका थिए । दिपा शाही हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउमा जन्मेकी हुन्। विकट भौगोलिक परिवेशमा हुर्किएर राष्ट्रिय फुटबलमा पुग्न सफल उनी दुर्गम क्षेत्रका युवाहरूका लागि प्रेरणाको स्रोत मानिन्छिन् ।
उनले विगत वर्षहरूमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उच्च प्रदर्शन गर्दै आएकी छन् । उनी एसियन गेम्स, साफ च्याम्पियनसिपलगायत प्रतियोगितामा सहभागी भइसकेकी छिन् ।
स्थानिय स्तरमा पनि शाहीको सफलतालाई गौरवको रूपमा लिइएको छ। सामाजिक सञ्जालमार्फत परिवार, स्थानीय तह र खेलप्रेमीहरूले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।