arrow

पर्यटन समिति

नागरिक उड्डयन प्राधिकरणलाई दुई स्वतन्त्र निकाय बनाउनुपर्ने पूर्वमहानिर्देशक सुमनको जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
ritish-suman.jpg

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिश सुमनले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण’ र ‘नेपाल हवाई सेवा प्राधिकरण’ लाई पूर्णरूपमा स्वतन्त्र प्राधिकरणका रूपमा विकास गर्नुपर्ने बताएका छन्। आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो धारणा राखेका हुन्।

सरकारले हाल नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राएर दुई छुट्टाछुट्टै प्राधिकरण (नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण) बनाउने गरी विधेयक ल्याएको छ। यसै विषयमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि भइरहेको छलफलका क्रममा सुमनले दुवै प्राधिकरण पूर्णतः स्वतन्त्र हुनुपर्ने बताए।

उनको तर्क छ कि हालको विधेयकले दुई महानिर्देशक मात्रै राखेको र एकको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा अर्कोको अध्यक्ष पर्यटन सचिव रहने व्यवस्थाले यसलाई 'टुक्राएको' भन्न मिल्दैन। "कम्प्लिट इन्डिपेन्डेन्ट भयो भने राम्रो हो। हामी कहाँ डिभिजन गरिरहेका छौँ। दुई वटा डिजी बनाइरहेका छौँ। त्यति मात्रै त हो। मन्त्रीज्यु त एउटै हुनुहुन्छ। कहाँ हामीले डिभाइड गरेका छौँ। एउटामा मन्त्रीज्यु अध्यक्ष हुनुहुन्छ, अर्कोमा सचिवज्यु अध्यक्ष हुनुहुन्छ। दुई वटा कम्प्लिट इन्डिपेन्डेन्ट बनाउनुपर्छ। जो स्वतन्त्र होस्। होइन भने एउटै भए पनि स्वतन्त्र होस्। दुई वटै स्वतन्त्र हुनुपर्छ," सुमनले भने।

हाल नागरिक उड्डयन प्राधिकरणले नियमन तथा सुपरीवेक्षण (पहिलो काम) र सञ्चालन तथा व्यवस्थापन (दोस्रो काम) गरी दुईथरी कार्य गर्दै आएको छ। सरकारले ल्याएको विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पहिलो अर्थात् नियमन र सुपरिवेक्षणको अधिकार दिइएको छ भने नेपाल हवाई सेवा प्राधिकरणलाई दोस्रो अर्थात् सञ्चालन र व्यवस्थापनको जिम्मेवारी दिने व्यवस्था गरिएको छ।

प्राधिकरणले अहिलेसम्म यी दुवै कामलाई फरक-फरक निर्देशनालयमार्फत सञ्चालन गर्दै आएको थियो। तर, नियामक निकाय र नियमित हुने निकाय फरक-फरक हुनुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को प्रावधान रहेको भन्दै सरकारले दुईवटा निर्देशनालयलाई फरक-फरक प्राधिकरण बनाउन लागेको हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ