arrow

संसदीय सुनुवाइ समिति

प्रस्तावित न्यायाधीश पोखरेललाई एमालेको आग्रह: 'प्रक्रियाबाट अलग्गिनु राम्रो'

सात महिनाअघिको प्रतिवद्धता छोडेर खुट्टा उचाल्दै आउने ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
mahesh-bartaula-pokhrel.jpg

काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश नियुक्ति प्रक्रियाबाट आफैँ अलग्गिन आग्रह गरेका छन्। आइतबार संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै बर्तौलाले सर्वोच्च बारको अध्यक्षमा करिब डेढ वर्षको कार्यकाल बाँकी छँदै राजीनामा दिएर न्यायाधीशको प्रक्रियामा आउनुले न्यायिक विचलन हुन सक्ने बताए।

बर्तौलाले पोखरेललाई स्वविवेकीय ढंगले यो प्रक्रियाबाट बाहिरिन सुझाव दिँदै भने, "न्यायाधीश बनेपछि राजनीतिक पक्षधरता छोडेर न्याय सम्पादनमा लाग्छु भन्नुभयो। तर तपाईंको पृष्ठभूमि बिल्कुल राजनीतिक छ। त्यो पनि सक्रिय छ। सबैले जाने बुझेको कुरा हो।" उनले सात महिनाअघि सर्वोच्च बारमा गरिएको प्रतिबद्धता तोडेर न्यायाधीशमा प्रस्तावित हुनेबित्तिकै 'खुट्टा उचालेर' आउनु नैतिकताविपरीत भएको जिकिर गरे। "यदी त्यो च्यातेर हिँड्नुहुन्छ भने भोलिका दिनमा न्यायिक विचलन आउँदैन भन्ने कुराको सुनिश्चितता कसरी हुन्छ?" उनको प्रश्न थियो।

बर्तौलाले प्रस्तावित न्यायाधीश पोखरेलले विगतमा वकिलका रूपमा बहस गर्दा सबै बहस प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा गरेको आरोप पनि लगाए।

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पनि केही समयअघि मात्रै बारको अध्यक्षमा निर्वाचित भएको व्यक्ति दुई वर्ष नपुग्दै सर्वोच्चको न्यायाधीशमा जान उचित नहुने जिकिर गरे। उनले यसमा उच्च नैतिकताको प्रश्न उठ्ने भन्दै व्यवहारमा यसले प्रश्नचिह्न ल्याउँछ कि ल्याउँदैन भनी प्रश्न गरे।

नेकपा एमाले सचेतक सुनिता बरालले पनि सुनुवाइको क्रममा रहेका सबै प्रस्तावित न्यायाधीशहरू राजनीतिक दलहरूसँग आवद्ध रहेको सुनिएको भन्दै यसले न्याय सम्पादनमा कति असर गर्छ भन्ने प्रश्न उठाइन्। उनले भनिन्, "तपाईंको प्रस्तुतिबाट शंका गर्ने प्रशस्त ठाउँ पाएँ।"

बरालले न्यायिक स्वतन्त्रता कायम राख्न चुनौतीहरू रहेको र त्यसको समाधानका उपायहरू प्रस्तुत गर्नुपर्ने बताउँदै बेन्च र बारसँगका विषयमा रहेका मतभेदलाई कसरी समाधान गरिन्छ भनी प्रश्न गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ