नेपाली महिला फुटबलले आज सयौँ अन्तर्राष्ट्रिय खेल खेल्दै [फोटोफिचर]
लाओस विरुद्धको खेल साँझ ६:१५ बजेदेखि, देशले ११ औँ कप्तान पाउन सक्ने सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
981
Shares
तस्बिर – एनएसजेएफ र उज्वेकिस्तान फुटबल संघ ।
काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज अन्तर्राष्ट्रिय सयौँ खेल खेल्दैछ । उज्वेकिस्तानमा रहेको नेपाली टोलीले एसियन कप छनोटको पहिलो खेलमा आज लाओससँग खेलेर सय खेल पूरा गरा गर्नेछ। खेल नेपाली समय अनुसार साँझ ६:१५ बजेदेखि हुनेछ ।
समूह ‘एफ’ का खेल आइतबारदेखि मिली स्टेडियममा हुँदैछन् । सहभागी चारै टिमले शनिबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा जित नै लक्ष्य रहेको बताएका हुन् । बाँकी दुई टिम आयोजक उज्वेकिस्तान र श्रीलंका हुन् । एक टिम समूह चरण पार गरेर अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी वुमेन्स कपका लागि छनोट हुने भएकाले सबैका लागि गर या मरको खेल हुनेछ ।
आज नेपालले लाओससँग खेल्दा अर्को खेलमा उज्वेकिस्तान र श्रीलंका भिड्नेछन् । नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले आफ्नो चाहना नेपाल नै समूह विजेता होस् भन्ने चाहेको बताए ।
उनले छनोटमा माथिल्लो स्तरको प्रतिस्पर्धा हुने निश्चित भएको भन्दै नेपाली खेलाडी यो चुनौती सामना गर्न तयार रहेको जानकारी दिए ।
अन्य देशका प्रशिक्षकले आफ्नो देश उत्कृष्ट रहेको बताइरहँदा नेपाली टिमका प्रशिक्षक वाइल्डले नेपाली खेलाडीसँग युरोप, मध्यपूर्व र दक्षिण एसियाकै माथिल्लो डिभिजनमा खेलेको अनुभव रहनु नै फाइदाजनक भएको दाबी गरे ।
आजको खेल सयौँ भएकाले पनि नेपालका लागि खास रहेको छ । आजको खेललाई विशेष ध्यान दिँदा ५८ खेलबाट सर्वाधिक ५७ गोल गरेकी सावित्रा भण्डारी 'साम्बा'को नजर सबैमा पर्न सक्छ ।
चर्चा नयाँ कप्तानको
महिला टोलीको कप्तानी अहिलेसम्म १० जनाले मात्र सम्हालेका छन् । रमा सिंहपछि कमला हिराचन, मीरा चौधरी, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनू लामा, सजना रानामगर, रेनुका नगरकोटी, निरू थापा र एन्जिला तुम्बाप्पो सुब्बाले टोलीको नेतृत्व गरिसकेका छन् ।
सन् २०१९ देखि एन्जिला कप्तान छिन् । उनी सबैभन्दा लामो समय कप्तानी सम्हाल्ने खेलाडी हुन् ।
यसपालि प्रशिक्षक वाइल्ड कप्तान फेर्ने दिशामा अग्रसर रहेको बुझिन्छ । यद्यपि एन्जिलाले नै निरन्तरता पाउने सम्भावनालाई नकार्न सकिन्न । अग्रजका हिसाब हेर्ने हो भने डेढ दशकदेखि राष्ट्रिय टोलीमा रहेकी पूर्व कप्तान रेनुका छँदैछिन् ।
एन्जिलाको कप्तानीमा पनि नेपालले राम्रै खेलिरहेको छ । उनी स्वयं निकै मेहनत गर्छिन् । त्यसो त साम्बा पनि कम छैनिन् र पनि कप्तानी भने कुनै स्तरमा गरेकी छैनिन् । विभिन्न क्लब र उमेर समूहमा अनिता बस्नेत, सरू लिम्बू, गोलकिपर अन्जना राना मगर, पूजा राना, प्रीति राईले पनि कप्तानी सम्हालिसकेका छन् ।
आगामी दिनलाई हेरेर लामो समयसम्म चल्न सक्ने कप्तानको खोजीमा वाइल्ड रहेको बुझिन्छ ।
नाम अनुसार उनले कत्तिको वाइल्ड निर्णय गर्लान् त्यो हेर्न धेरै समय कुर्नु पर्दैन ।
रेनुका र एन्जिला बाहेक अन्य खेलाडीले जिम्मेवारी पाए नेपालकी ११ औँ कप्तान हुनेछिन् ।
नेपालको अहिलेसम्मको यात्रा
नेपाली फुटबलको विगत राम्रो छैन । खासगरी सरकारले नै महिला फुटबललाई चिन्ने प्रयास गरेन । महिलालाई खेल्न नदिनु नै दुर्भाग्य भयो । यसको उदाहरण त तथ्यांक नै काफी छ ।
अन्तर्राष्ट्रिय खेल खेल्न थालेको ३९ वर्ष भए पनि निरन्तर प्रतियोगिता नखेल्दा सय खेल पुर्याउन करिब चार दशक लागेको हो । नेपालले सन् १९८६ को डिसेम्बर १४ तारिखमा एसियन च्याम्पियनशिपमा हङकङविरुद्ध खेल्दै अन्तराष्ट्रिय यात्राको शुरूआत गरेको थियो ।
९९ खेल खेल खेल्दा महिला टोलीको सफलता दर भने खासै नराम्रो छैन । नेपालले ४६ जित, १६ बराबरी र ३७ हार बेहोरेको छ ।
पञ्चायती शासनका कारण हो वा बुद्धि नभएका खेलकुदका योजनाकारका कारण हो महिलाले अवसर नै पाएनन् । पुरुष टिमले सन् १९८२ मा अन्तर्राष्ट्रिय खेल शुरू गरेकामा सन् २००३ मै सय खेल पूरा गरेको थियो ।
महिला टिले पहिलो खेल खेलेपछि दोस्रो खेल्न तीन वर्ष र तेस्रो खेल खेल्न त्यसको एक दशक अर्थात् सन् १९९९ मा मात्र सम्भव भएको थियो । त्यतिबेला नेपालले जापान, थाइल्यान्ड, उज्वेकिस्तान र फिलिपिन्ससँग खेल्न पाएको थियो ।
खेल्नकै लागि संघर्ष गरेको नेपाली टिमलाई जितसँग खासै मतलव थिएन । अझ भनौँ जितका लागि खेल्ने अभ्यास त गर्नै पाएको थिएन । सातौँ खेल खेल्न नेपालले फेरि ११ वर्ष कुर्नु पर्यो ।
सन् २०१० मा ११ औँ दक्षिण एसियाली खेलकुद (साग) मार्फत महिला टोलीले पुनरागमन गर्यो । त्यो नै महिला फुटबलको टर्निङ पइन्ट रह्यो । त्यो वर्ष महिला टोलीले ११ औँ साग र महिला साफ च्याम्पियनशिप पनि खेल्यो । दुवै प्रतियोगिताको फाइनलमा पुगेपछि नेपाली महिला टोलीले सम्भावनाको ढोका खोलेको थियो ।
सन् २०१० पछि भने नेपालले लगातार खेलिरहेको छ । यद्यपि दक्षिण एसियामा बढी सीमित हुने गरेको छ । ११ औँ सागयता १२ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलिसकेको छ। उपाधि भने अझै हात परेको छैन ।
पहिलो महिला कप्तान रमा सिंह जहिलेदेखि सरकारले महिला फुटबललाई प्राथमिकतामा राख्छ त्यसबेलादेखि नै उपाधिको आशा गर्नुपर्ने बताउँछिन् । उनी सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राथमिकतामा महिला फुटबल पर्नै नसकेको बताउँछिन् ।
अहिलेसम्म जति पनि उपलब्धि नेपालले हासिल गरेको छ त्यो सरकार वा एन्फाको नभइ खेलाडीको व्यक्तिगत तहबाट मात्रै सम्भव भएको सिंहको ठहर छ ।
महिला खेलाडीहरू आफ्नै क्षमताका कारणले विदेशमा खेल्न पाएका छन् । फरवार्ड सावित्रा भण्डारी साम्बा र गोलकिपर एन्जिला तुम्बापो सुब्बाले त युरोपेली क्लबमा व्यवसायिक खेल खेलिसकेका छन् ।